
धार्चेका हिमाल आरोहीहरु सम्मानित
आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने गोरखाको धार्चे गाउँपालिकाका आरोहीहरुलाई सम्मान गरिएको छ । अठारसयखोला तमु समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गाउँका आरोहीहरुलाई सम्मान गरेको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र अठारसय खोला तमु समाजका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रुपमा १८ जना आरोहीहरुलाई सम्मान गरेका संस्थाले जनाएको छ ।
कार्यक्रममा ७ पटक सगरमाथा आरोहण गर्ने पुरबहादुर गुरुङ, ६ पटक सगरमाथा, ४ पटक मनास्लु र एक पटक धौलागिरी आरोहण गर्ने इमान गुरुङ, ६ पटक सगरमाथा आरोहण गर्ने सुमन गुरुङ, तीन पटक सगरमाथा र एकपटक मनास्लु आरोहण गर्ने ओमबहादुर गुरुङलाई सम्मान गरेको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै दुई पटक सगरमाथा अनि केटु, कञ्चनजङ्घा, ल्होत्से, मनास्लु आरोहण गर्ने सन्दीप गुरुङ, तीनपटक सगरमाथा, एकपटक मनास्लु आरोहण गर्ने रामबहादुर गुरुङ, दुई पटक सगरमाथा र मनास्लु आरोहण गर्ने सुजल गुरुङ, एकपटक सगरमाथा, दुईपटक मनास्लु, ल्होत्से र केटु एकेक पटक आरोहण गर्ने नानुमाया गुरुङ, सगरमाथा, मनास्लु र कञ्जनजंगा आरोहण गर्ने बुध गुरुङलाई पनि सो संस्थाले सम्मान गरेको हो ।
त्यस्तै चोयु, मनास्लु र धौलागिरी आरोहण गर्ने केशव गुरुङ, दुईपटक सगरमाथा आरोहण गर्ने पूर्ण गुरुङ, एक–एक पटक सगरमाथा आरोहण गर्ने मुलाल गुरुङ, बिसबहादुर गुरुङ, डम्बर गुरुङ, मनुमान गुरुङ, बिसबहादुर गुरुङ, तुल्सिङ गुरुङ र एकपटक मनासलु आरोहण गर्ने आशबहादुर गुरुङलाई सम्मान गरिएको अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
‘उहाँहरुले गाउँको इज्जत, प्रतिष्ठा बढाउने काम गर्नुभयो त्यसैले, हामीले सम्मान गरेका हौं’, उनले भने, ‘खुम्बु क्षेत्रका शेर्पा समुदायको त मुख्य पेशा नै आरोहण हो त्यसैले सगरमाथा आरोहण गर्नेको संख्या धेरै छ । तर पश्चिमतिर बसोबास गर्ने गुरुङ समुदायबाट यति धेरै सगमाथा र अरु आठहजार मिटरभन्दा अग्लो हिमाल चढ्ने धेरै आरोही हाम्रै पालिकामा छन् । उनीहरुलाई अझै यस क्षेत्रमा लाग्न हौसला दिन हामीले सम्मान गरेका हौं ।’
कार्यक्रममा धार्चे गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष ईमानसिंह गुरुङ, अठारसय खोला तमु समाज, काठमाण्डौका संस्थापक सदस्य अम्बर गुरुङ, अन्तर्राष्ट्रिय प्रथम माउण्टेनियरिङ गाइड सुनार गुरुङ, लाप्राक समाज, काठमाण्डौका अध्यक्ष श्रीबहादुर गुरुङ, अठारसय खोला पौरखी महिला समूहका अध्यक्ष जोशिला गुरुङ, उत्तरी गोरखा महिला समूहकी अध्यक्ष धनमाया गुरुङ, गणेश हिमाल महिला समूहकी अध्यक्ष कान्छी गुरुङ, धार्चे मनास्लु महिला समूहकी अध्यक्ष एलिजा गुरुङ, हिमालय याकका प्रबन्ध निर्देशक रामकुमार गुरुङ, इथिक हिमालयका प्रबन्ध निर्देशक धनप्रसाद गुरुङ, गुम्दा माछिखोला निर्माण सेवाका संचालक श्री सन्त बहादुर गुरुङ, एलाईन्स एचआर सोलुसनका संचालक छम्वेल गुरुङ एलाईन्स एच आर सोलुसनका संचालक माला गुरुङ, चित्रबहादुर गुरुङ, माईली नेपालका गणेश गुरुङ, लाप्राक समाजका उपाध्यक्ष यामबहादुर गुरुङ, कमल गुरुङ, ईचाङकु नारायण समाजका अध्यक्ष जीतराम घले, प्याराग्लाईटिङ पाईलट मनबहादुर गुरुङ, नेपाल पर्वतारोहन संघका सदस्य तथा ईजी समिटका प्रबन्धक किसान गुरुङ लगायत सहभागी थिए ।




