
गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्नेबारे बहश
गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्नेबारे फेरि पनि बहश सुरु भएको छ । यसअघि बारम्बार बहश हुँदै स्थगित हुँदै आएको यस विषयमा शनिबार फेरि बहश तथा अन्तरक्रिया भएको छ ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर रानाले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण कार्य गर्न तयार रहेको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विश्व सम्पदा सूचीमा जानका लागि आवश्यक मापदण्डहरु अक्षरशः पूरा गर्नुपर्ने तयार रहनु पर्नेमा जोड दिए ।
वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले यसअघि भएका बहश, छलफलमा स्थानीयबासीबाट पर्याप्त सकारात्मक वातावरण सिर्जना नभएको स्वीकार्दै अबका दिनमा विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि तत्परता देखाउने बताएका थिए । साथै उनले भूकम्पका बेला निजी आवास पुनर्निर्माणका लागि गोरखा दरबारको क्षेत्र साँगुरो बनाउने काम भएकाले त्यसलाई यथाअवस्थामा जान पनि आफूहरु तयार रहेको बताएका थिए ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विश्व सम्पदा सूचीमा सूचीकृत हुन विभिन्न ऐन, कानून, मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । पुरातात्विक सम्पदा भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्ने सिलसिलामा पुरातत्व विभाग विकास विरोधी जस्तो देखिए पनि त्यो रुपमा लिन नहुने स्पष्ट पारे । संरक्षण र विकासका मापदण्ड कतिपय मिल्ने, कतिपय नमिल्ने भन्दै उनले संरक्षणका मापदण्ड पालना गर्न प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
सो छलफल कार्यक्रम पुरातत्व विभागले आयोजना गरेको हो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, गोरखा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी, ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, ८ का वडाअध्यक्ष ऋषिराम खत्रीको सहभागिता रहेको थियो ।
त्यस्तै वडा नं. ५ का वडाअध्यक्ष विष्णु राना मगर, वडा नं. ४ का वडाअध्यक्ष लालप्रसाद भट्टराई र वडा नं. ३ का वडाअध्यक्ष चुलबहादुर कुँबर, पुरातत्व विभागका योजना शाखाका प्रमुख रामबहादुर कुँबर, विश्व सम्पदा सूची शाखा प्रमुख सन्दीप खनाल, गोरखा संग्रहालयका प्रमुख जगनाथ कार्की, गोरखा दरबार क्षेत्रले समेट्ने टोलका टोलविकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, ऐतिहासिक क्षेत्र संरक्षण समितिका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।




