
बर्ष २०८१ लाई फर्केर हेर्दा फेरियो बर्ष, फेरिएन अबस्था
प्रतीक्षा आले :
गतबर्ष २०८१ विदा भई आजदेखि नयाँबर्ष २०८२ सुरु भएको छ । प्राकृतिक विपद्, मानव निर्मित विपद्, मान्छे र घरपालुवा पशुचौपायामा रोगव्याधि, राजनीतिक अस्थिरता आदि कारणले गतबर्ष दुखद नै रह्यो । केही नयाँ विकास निर्माणका कामहरु सम्पन्न भए, केही नयाँ कार्यको थालनी भए, जसले सुखद दृश्य पनि देखिए ।
गतबर्ष २०८१ भरि नौ वटा सवारी दुर्घटनाहरु भए । जसबाट आठजनाको मृत्यू र १७ जना घाइते भए । विपद्मा परी गतबर्ष नौ जनाको ८ जनाको मृत्यू भयो ।
त्यस्तै जबर्जस्ती करणीका नौ वटा मुद्दा प्रहरीमा दर्ता भए । डिभिजन वन कार्यालय गोरखाले वनको अतिक्रमित आठ हेक्टर क्षेत्रफल जग्गा फिर्ता लिन सफल भएको छ । विभिन्न पालिकास्थित अतिक्रमित जग्गालाई कार्यालयले फिर्ता ल्याएर राष्ट्रिय वन कायम गर्न सफल भयो ।
चुमनुब्री गाउँपालिकाले गतबर्ष नै नुब्री क्षेत्रलाई पनि ‘स्याग्या’ अर्थात अहिंसा उपत्यका घोषणा गरेको छ । यस्तै, पालिकाले हिन्दु र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिक क्षेत्रमा अवस्थित टासी पासाङ हिमाल (सेराङ हिमाल) आरोहण गर्न अनुमति नदिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
साथै पालिकाले सेराङ हिमाललाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
गत वर्षको बैशाखमा वीरेन्द्र तालमा हिउँपहिरो झ¥यो । झन्डै नौ वर्षपछि वीरेन्द्रतालमा हिउँपहिरो झरेको हो ।
रबर उद्योगको सामान चोरी ः विगत लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगको सामान गतबर्ष चोरी भयो । प्रहरीले गोरखकाली रबर उद्योगको सामान चोरी गर्ने दुईजनालाई पक्राउ समेत गरेको छ ।
मनासलु रुटमा फोरजी सेवा विस्तारः वर्ष २०८१ मा नेपाल टेलिकमले गण्डकी प्रदेशकै सबैभन्दा विकट भनेर चिनिएको मनास्लु ट्रेकिङ रुटमा फोरजी सेवा विस्तार ग¥यो । टेलिकमले मनासलु रुट अन्तरगत राम्रोसँग मोबाइल पनि नचल्ने ल्हो र सामागाउँ, साम्दोमा फोरजी सेवा विस्तार गरेको हो ।
चुमनुब्री गाउँपालिका ३, ४, ५ र ७ मा टेलिकमले यसअघि नै फोरजी सेवा विस्तार गरिसकेको छ । वर्ष २०८१ मा भने पालिकाको वडा नं १ सामागाउँ, साम्दो र वडा नं २ को ल्हो क्षेत्रमा पहिलो पटक सेवा विस्तार गरेको हो ।
मनासलु क्षेत्रमा पहिलो पटक हिमचितुवा गणना ः वर्ष २०८१ मा मनासलु क्षेत्रमा पहिलो पटक हिमचितुवा गणना गरिएको छ । गणनाको विवरण अनुसार उक्त क्षेत्रमा साना(ठुला गरेर १५ वटा हिमचितुवा भेटिएको हो ।
छेकम्पारका दुई युवा तिव्बतबाट पक्राउ ः वर्ष २०८१ मा तिब्बती सीमा क्षेत्र चुमनुब्री गाउँपालिका–७ छेकम्पारका दुई युवा तिब्बतबाट पक्राउ परेका छन् । छेकम्पारका कर्मा राप्के र कर्मा छेदेन पक्राउ परेका हुन् । उनीहरुमध्य एकजना रिहा भइसकेका छन् भने अर्का एकजना अझै नियन्त्रणमै छन् ।
साम्दोमा विओपी स्थापना : वर्ष २०८१ मा उत्तरी गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । तिब्बतसँगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिका १ साम्दोमा बिओपी स्थापना भएको हो ।
वडा सचिवको अभाव : बिगतबर्षहरुमा झै गतबर्ष पनि वर्षभरि नै गोरखाका पालिकाहरुले दरबन्दी अनुसारको कर्मचारी अभाव खेप्नु प¥यो । विशेषगरी वडा सचिव अभावको समस्या झेल्नु प¥यो । कतै अहेवले त कतै कृषि प्राविधिकले वडा सचविको जिम्मेवारी निभाउनुप¥यो ।
विकटका पालिकाहरुमा एउटै वडा सचिवले ३ देखि ४ वटा वडाको काम हेर्नुपर्ने अवस्था यथावत नै रह्यो ।
आरोहण किर्तिमान : गत वर्ष गोरखाका १३ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । एकहप्तामा तीनपटक सगरमाथाको सफल आरोहण गरेर आरुघाटकी पूर्णिमा श्रेष्ठले २०८१ मा नयाँ किर्तीमान रचिन् ।
यस्तै, यो वर्ष छेकम्पारकी फुन्जो लामाले सबैभन्दा छिटो १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गर्ने महिलाको किर्तीमान हासिल गरिन् ।
गत वर्ष विद्युत महसुल नतिर्ने १४ सय घरधुरीको लाइन काटियो । विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रले जिल्लाभर विद्युत महसुल नतिर्नेहरुको लाइन काट्ने काम सुरु गरेको हो ।
उत्तरी गोरखाको लाइफ लाइनका रुपमा हेरिएको लार्के सडकलाई अहिलेसम्मकै कम बजेट विनियोजन गरिएको छ । गतवर्ष लार्के सडकका लागि सरकारले जम्मा ७ करोड रुपैँया रकम बिनियोजन गरेको थियो ।
बेरुजुको चाङ उस्तै : जिल्लाको स्थानिय निकायहरुको बेरुजुको अबस्था अघिल्लो वर्ष जस्तै रह्यो । विगतमा जस्तै यो वर्ष पनि सबैभन्दा धेरै बेरुजु देखिने पालिका गोरखा नगरपालिका नै रह्यो । गोनपाको गत वर्षको बेरुजु ३ करोड ५९ लाख १५ हजार रहेको छ । गोनपापछि सबैभन्दा धेरै पालुङटार नगरपालिकाको २ करोड ६२ लाख २३ हजार रहेको छ ।
गतवर्ष हेलिकप्टर उडानमा सहजता ल्याउन माग गर्दै चुमनुब्री–१ का बासिन्दाले करिब एक महिनासम्म हेलिकप्टर उडान बन्द गरे ।
गत वर्षको एसईईमा ३३ प्रतिशत विद्यार्थी मात्र उत्तर्ण भए । साथै, जिल्लाभर ११ वटा विद्यालयले शुन्य नतिजा ल्याए ।
गत वर्ष कृषि ज्ञान केन्द्र गोरखाको ४६ लाख बजेट फ्रिज भयो ।
१८ वटा सहकारीको दर्ता खारेज ः सबै पालिकामा सहकारी निश्कृय रहेका छन् । त्यस्ता निस्कृय सहकारीलाई खारेज गर्ने क्रममा गतवर्ष सहिदलखन गाउँपालिकाले पालिकाभित्रका १८ वटा सहकारी संस्थाहरुको दर्ता खारेज ग¥यो ।
गोरखा सदरमुकामको इमेज इन्स्टिच्युटले धेरै पहिलेदेखि नै सेवाग्राहीको सर्टिफिकेटलगायतका कागजातको सक्कल प्रति कार्यालयमा राख्ने र सो फिर्ता माग्नेसंग २० हजार लिने गरेको थियो । यसको प्रमाण भेटेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा त्यो व्यवस्था हट्यो ।
डेङ्गुका कारण गत वर्ष पनि सदरमुकाम लगायत जिल्लाभर हजारौँ जना बिरामी परे ।
बर्षौंदेखि व्यप्त रासयनिक मलको अभाव गतवर्ष पनि गोरखाका किसाले भोग्नुप¥यो । समस्याका बारेमा ज्ञात भए पनि कुनै पनि निकायले समाधान गर्न सकेनन् ।
पालुङटारको बहुप्राविधिक शिक्षालय लामो समयसम्म तनावमय बन्यो । जिल्ला प्रशासन कार्यालयको सक्रियतापछि समाधान पनि भयो ।
असोज १० र ११ गते आएको त्रिशुलीको बाढीले विभिन्न ठाउँका चारओटा झोलुङ्गे पुल क्षतीग्रस्त बनायो । जसको अहिलेसम्म पनि मर्मत भएको छैन् ।
धार्चे–५ को रेसेफाँट पहिरोमा पुरिएर पाँच जनाको दुखद निधन भयो । त्यस्तै गतवर्ष नै काठमाडौं जाने क्रममा झ्याप्लेखोला पहिरोमा परी गोरखाका पाँचजनाको मृत्यु भयो ।
गत वर्ष गोरखाको सडकका लागि संघीय सरकारबाट १ अर्ब ६९ करोड १९ लाख रुपैँया बिनियोजन भएको थियो ।
गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय विवादले लामो समयसम्म नगरपालिकाको काम कारबाही ठप्प बनायो ।
१० वर्ष देखि रोकिएको चिनियाँ सरकारको सहयोगमा सिँजाली माविको भवन निर्माणको काम गत वर्षबाट सुरु भयो ।
गोरखा भ्रमण वर्ष २०२५ घोषणा ः गोरखा नगरपालिकाले पर्यटन विकास गर्ने उद्देश्यले पर्यटन बर्ष घोषणा गरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
गोरखाका मुर्धन्य गायक लाल बहादुर गन्धर्बको गत वर्ष निधन भएको छ ।
गोरखामा गत वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आयो ।
यसैगरी, सुन्तलाको उत्पादन पनि १५ प्रतिशत घट्यो ।
काशीगाउँकी सुचिना घलेको बारपाकमा भएको हत्या प्रकरणले गोरखाको अबस्था तनाबमय रह्यो । लामो खोज अनुसन्धानपछि हत्यारा पक्राउ परे ।
अजिरकोटमा विद्यालयको पाठ्य पुस्तकमा जनयुद्धको सामाग्री समेटेको भन्दै चर्को बिरोध भयो ।
गोरखा नगरपालिका वडा नं ५ मा सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका विष्णु राना विजयी बने ।
एकवर्ष अगाडि नै निर्माण सम्पन्न भएको एनपीआई गोरखा अस्पताल विभिन्न व्यवधानका कारण गतवर्ष पनि उद्घाटन हुन सकेन ।
सदरमुकामको वृहद् दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको समस्या गतवर्ष पनि समाधान हुन सकेन । फलस्वरुप सो आयोजना गतबर्ष पनि सञ्चालनमा आउन सकेन । सदरमुकामको अन्नपूर्ण सहकारी संस्था आन्तरिक किचलोका कारण बन्द हुन पुग्यो ।
गण्डकी गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद गत वर्ष पनि समाधान हुन सकेन ।
१०० मेगावटको सुपर त्रिशुली जलविद्युत आयोजनाको काम सुरु ः त्यसैगरी, ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना र ९.८४ मेगावाटको दरौँदी नदी जलविद्युत आयोजनाले निर्माण अनुमति पत्र लिई प्रक्रिया अघि बढाए ।
सो वर्ष जिल्लाका ११ वटै स्थानीय तहहरुको वेभसाइट केही दिनसम्म ह्याक हुन पुग्यो ।
गोरखा उद्योग वाणिज्य संघले गत वर्ष भगवानबाबु मास्केको नेतृत्वमा नयाँ कार्यसमिति पायो । धार्चे र चुमनुब्रीको सिमा विवाद तथा बारपाक र लाप्राकको सिमा विवाद गत वर्ष पनि यथावत नै रह्यो ।
भूमि समस्या समाधान आयोगको नेतृत्व गत वर्ष परिवर्तन भयो । राजनराज पन्त अध्यक्ष बने ।
गत चैत ५ मा भएको स्ववियु निर्वाचनमा गोरखा क्याम्पसमा सुलभ अंगाई र द्रव्यशाह क्याम्पसमा अविन श्रेष्ठ विजयी भए ।
अफ्रिकन स्वाइन फिवरका कारण गत वर्ष गोरखामा २० वटा बंगुरहरु मरे ।
तुलसी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा लगायतका शीर्ष कलाकारहरु अभिनित चलचित्र ‘पहाड’को गोरखामा छायांकन भएको छ ।
गोरखाको पुरानो बसपार्कदेखि ३०० मिटर सडकको चौडा बढाउने र फुटपाथ व्यवस्थित गर्ने कामको गतवर्ष थालनी भएको छ ।
पूर्व राजा ज्ञानेन्द्रले गत चैतको ९ गते गोरखाको भ्रमण गरे । यो उनको २० वर्षपछिको भ्रमण हो ।
पालुङटार–९ ढुङ्गेटारीमा निर्धारित समयभन्दा सात महिना अगावै मोटरेबल पुल बन्यो । बिगत तीनबर्षदेखि खोलखोलेमा भइरहेको ढुंगाखानीको दोहन गतबर्षको अन्त्यतिर रोकियो ।




