| शनिबार, बैशाख २५, २०८३

रुवीनाला भञ्ज्याङको पहिरो मर्मत

तीनबर्षअघि भूकम्पले क्षति गरेको रुवीनाला पर्यटन पदमार्ग मर्मत गरिएको छ । पहिरोले अवरुद्ध भएको रुवीनाला भञ्ज्याङ को करिब एकसय २५ मिटर पहिरो हटाइएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । ‘रुवीनाला पास गरेपछि केही तल्लो भागमा एकसय २५ मिटर लामो पहिरो थियो । हालै पहिरो पनि हटाइयो । त्यस आसपासको तीन सय ५० मिटर बाटो पनि मर्मत गरिएको छ’, गुरुङले भने, ‘अब पर्यटक सजिलै रुवीनाला पास गरेर सिर्दिबासको न्याक हुदै चुमभ्याली र नुब्रीभ्याली निस्कन सक्छन् ।’ सो पदमार्गको कोप्ताङ खोला र उतिखोलामा काठेपुल निर्माण गर्नुपर्ने छ । ‘हिउँ पग्लेर आएको बाढीले पहिले बनाएको काठेपुल बगाएको छ’, उनले भने, ‘अब ती दुई ठाउँमा काठेपुल निर्माण गर्नुपर्नेछ ।’ बुढीगण्डकी किनारको पर्यटन पदमार्गमा सडक निर्माण भइरहेको छ । सो पदमार्गमा मोटर चलेपछि रुवीनाला पासलाई बैकल्पिक पर्यटन पदमार्गको रुपमा विकास भइरहेको उनले बताए । रुवीनाला पदमार्ग मर्मतका लागि मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले एकलाख रुपियाँ उपलब्ध गराएको छ । चुमनुब्री गाउँपालिकाले तीन लाख रुपियाँ दिने प्रतिवद्धता जनाएको गुरुङले बताए । पदमार्ग मर्मत भएपछि अक्टोबरदेखि पर्यटकहरु आउने विश्वास गरिएको छ । सो पदमार्ग पूरा गर्न १२ दिन, १६ दिन र २० दिनको प्याकेज तयार गरिने छ । मानव बस्तीबिहिन ठाउँ भएकाले रुवीनाला मार्गमा सातदिनसम्म क्याम्पिङ गर्नुपर्ने छ । ‘बारपाक, लाप्राकबाट माथि गएपछि गाउँ भेटिदैन । होटलहरु छैनन् । गाई गोठ, कहीँ खर्कहरु मात्र छन्’ पर्यटन ब्यबसायी साने गुरुङले भने, ‘सात दिनसम्म क्याम्पिङ गरेर हिड्नुपर्छ ।’ रुवीनाला ४,७२० मिटर उचाइमा रहेको भञ्ज्याङ हो । रुवीनाला पार गरेपछि धुम्जुङमा वुद्धहिमाल, रानीचुली र हिमालचुलीका एक किलोमिटर लामो ग्ल्यासियर छ । सो ठाउँमा पुग्न ३,२२० मिटर अग्लो धार्चे डाँडा पार गर्नुपर्छ । साथै पदमार्गमा १०८ धारा रहेको जेराङगुफा, प्राकृतिक मनोरम दृश्यहरु रहेका छन् । यसअघि धार्चेडाँडा, सम्बेखर्क र न्याउलीखर्कमा भरियाघर निर्माण भएको छ । रुवीनाला भञ्ज्याङले माथिल्लो मनास्लु र तल्लो मनास्लु जोड्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्