| सोमवार, कार्तिक २३, २०८३

साताव्यापी ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा

धार्चे मनास्लु पर्यटन विकास समितिले साताव्यापी ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु गरेको छ । हरेक बर्ष नेपाली सेनाले यात्रा गर्ने गरेको गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्मको यात्रा सोमबारदेखि सुरु भएको समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

सोमबार बिहान आठबजे गोरखा दरबारको हनुमानभञ्ज्याङबाट यात्रा सुरु भएको हो । पहिलो दिन खान्चोक हुँदै बोर्लाङ(भीमसेन स्मारक) पुगेर सो टोली बास बसेको छ । मंगलबार घाटवेशीबाट धादिङ प्रवेश गर्नेछ । सामगरीभञ्ज्याङ, त्रिशुली, नुवाकोट दरबार हुँदै फागुन ४ गते काठमाडौँ हनुमान ढोका दरबारसम्म पुगेर यात्रा सम्पन्न हुने अध्यक्ष गुरुङले जानकारी दिए । करिब ८० किलोमिटर अनुमान गरिएको पदमार्गको पदयात्रा गरेपछि त्यसको आकर्षण र त्यसको पर्यटन विकासमा सम्भव्यताका विषयमा प्रतिवेदन बनाउने उनले बताए ।

‘यो पदमार्गका महत्वपूर्ण आकर्षणहरु के के हुनसक्छन् भनेर तिनीहरुको विवरण संकलन गर्नेछौँ । पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि के के पूर्वाधार आवश्यक पर्छ भन्ने बारेमा पनि विस्तृत अध्ययन गर्नेछौँ’, अध्यक्ष साने गुरुङले भने, ‘बढिमा एक महिनाभित्र विस्तृत प्रतिवेदन तयार गरी ट्रेकिङ एजेन्सीज एशोसिएशन(तान), पर्यटन बोर्ड पोखरा, गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिकामा पेश गर्नेछौँ ।’

साताव्यापी पदयात्राका लागि धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष गुरुङ, ट्रेकिङ एजेन्सीज एशोसिएशन(तान)का इञ्जिनियर र एकजना सहयोगी सहभागी हुँदैछन् । सो यात्राका लागि गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका, तान र पर्यटन बोर्ड पोखरासंग समन्वय गरिएको छ । व्यवस्थापनका लागि प्रतिवद्धता आए पनि रकम कहीँबाट प्राप्त नभएको उनले बताए ।

सो पदमार्गमा म्याराथुन, साइक्लिङ ट्रेल, इको टुरिज्मको सम्भाव्यता र कृषि र पर्यटनलाई जोड्ने गरी अध्ययन गरिने छ । जिपिएस म्यापिङ पनि गर्ने उनले बताए । यात्रा सुभारम्भका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठक, गोरखा जिल्ला होटल संघका वरिष्ठ उपाध्यक्ष कृष्ण लामिछाने, धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्