
मनकामना केबलकार २७ औँ वर्षमा : बार्षिक १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य
मनकामना केबलकार सञ्चालनमा आएको २६ औँ वर्ष पूरा गरेको छ । २०५५ सालको मंसीर ८ गते तत्कालीन युवराज दीपेन्द्रले उद्घाटन गरेको सो केवलकार गत शनिबार २७ औं वर्षमा प्रवेश गरेको हो ।
पृथ्वीराजमार्गबाट प्रसिद्ध धार्मिकस्थल मनकामना पुग्ने गरी केवलकार सञ्चालन गर्न गोरखाका लक्ष्मणबाबु श्रेष्ठले २०५३ कात्तिक २२ मा मनकामना दर्शन प्रालि स्थापना गरेका थिए । २०५४ माघ अन्तिम साताबाट निर्माणको काम सुरु भएको केवलकार २०५५ मंसिर ८ बाट व्यवसायिक रूपमा सञ्चालनमा आएको थियो ।
२७ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा नेपालकै पहिलो केबलकारका स्रष्टा स्वर्र्गीय लक्ष्मणबाबु श्रेष्ठको योगदानकाबारे चर्चा गरिएको थियो । यो अवस्थासम्म आइपुग्दा सो केबलकार एनलग प्रविधिबाट डिजिटल प्रणालीमा स्तरोन्नति भएको छ ।
६५ करोड लागतमा निर्मित सो केवलकार हालै ५५ करोड लागतमा नयाँ प्रविधिमा स्तरोन्नति गरिएको सञ्चालक संस्था मनकामना दर्शन प्रालिले जनाएको छ ।
आगामि दिनमा समय अनुकूल अझै स्तरीय सेवा दिने प्रतिबद्धता प्रालिले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका ३ मनकामना र चितवनको इच्छाकामना गाउँपालिका ४ पृथ्वीराजमार्ग जोड्ने सो केवलकारमा हालसम्म करिब एक करोड ९० लाखभन्दा बढि यात्रुहरुल यात्रा गरिसकेका छन् । मनकामना मन्दिरसम्म पु¥याउने र ल्याउने काम गरेको मनकामना केवलकारले सात वर्षमै लगानी उठाएको छ ।
सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । हाल १२ लाख यात्रुलाई सेवा दिने गरिएको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको बार्षिकउत्सवमा मनकामना दर्शन प्रालिले जनाएको छ ।
केवलकारबाट प्रत्येक वर्ष लाखौँ भक्तजनहरू चितवनको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै मनकामनाको दर्शन गर्न मन्दिर पुग्ने गर्दछन् ।
मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रियाको डोपल मायर कम्पनीले निर्माण गरेको हो । कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ ।
१० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रतिसेकेन्ड रहेको छ । ६ व्यक्ति प्रतिडब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ ।
मनकामना केवलकारले १ सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । केवलकारमा सेवा लिने कुल यात्रुमा अहिले ७० प्रतिशत नेपाली, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु ४ प्रतिशत छन् ।
अहिले शनिबार बिहान साढे ६ देखि साँझ ८ बजेसम्म चलाइन्छ भने अन्य दिन साढे ७ बजेबाट साढे ५ बजेसम्म चलाउने गरिएको छ ।
मनकामना पर्यटक अड्याउन अहिले ५५ करोड लागतमा मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्ट हुनेछन् । रिसोर्ट सन् २०२४ को अन्त्यसम्ममा सञ्चालन ल्याइने जनाइएको छ ।
केवलकारले सामाजिक व्यावसायिक उत्तरदायित्वको नीति अँगाल्दै यसअन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्नवर्ग समुदायलाई सहयोग गर्दै आएको मनकामना दर्शन प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै सोही नीतिअनुसार केबलकार टिकट बिक्रीबाट हुने आम्दानीको कुल रकममध्ये १ प्रतिशतका दरले गोरखाको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा प्राकृतिक प्रकोप पिडितका लागि बर्सेनि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।




