
पाँच बुँदे घोषणा पत्र जारी गर्दै सकियो पर्यटन व्यवसायी भेला
जिल्लामा भएको दुई दिने ऐतिहासिक पर्यटन व्यवसायी भेला सम्पन्न भएको छ । बिहिवार सम्पन्न भेलाले पाँचबुुँदे पर्यटन प्रवद्र्धन सम्बन्धी घोषणा पत्र जारी गरेको छ ।
पर्यटन प्रवद्र्धनका निम्ति चालु आर्थिक बर्ष गोरखाका सबै स्थानीय तहमा पर्यटन मेला गर्ने बताइएको छ । गोरखा नगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष २०८१÷८२ लाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख छ । मनास्लु क्षेत्रमा जाने पर्यटकलाई गोरखा बजार हुदैँ जाने वातावरण मिलाउनका निम्ति मनास्लु पदमार्गको केन्द्रविन्द्र गोरखा बनाउन आवश्यक पहल गर्ने भनिएको छ ।
‘टानको सहकार्यमा काठमाडौंमा पर्यटन भेला गर्ने भनेका छौँ’ गोरखा होटल संघका महासचिव सुमन श्रेष्ठले भने, ‘मे ९ लाई मनास्लु डे को रुपमा मनाउन टान, पर्यटन बोर्ड, बिभाग, प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने भनेर घोषणा पत्रमा उल्लेख गरेका छौँ ।’ भेलाले समग्र जिल्लाको पर्यटन गुरुयोजना तयार गर्ने निर्णय समेत गरेको छ ।
गोरखा होटल संघका सचिव एवं भेला संयोजक बिष्णुप्रसाद तिमिल्सिनाको संयोजकत्वमा समिति समेत निर्माण भएको छ । ‘समितिमा चार जना पर्यटन बिज्ञहरु हुन्छन्,’ महासचिव श्रेष्ठले भने, ‘गोरखा नगरपालिकाको सहयोगमा त्यो समितिले दुई महिनाभित्र जिल्लाको पर्यटन गुरुयोजना निर्माण गर्छ ।’ संघको आयोजनामा वुधवार र बिहीवार पर्यटन व्यवसायी भेला भएको हो । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ गरिएको भेलाको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।




