
उत्तरी गोरखामा सामागाउँवासीले हेलि उडान रोकेपछि पर्यटक अलपत्र
निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै उत्तरी गोरखामा सामागाउँवासीले हेलि उडानमा रोक लगाएका छन् । वुधवार सामागाउँको हेलिप्याडमा जम्मा भएर उनीहरुले हेलि उडान र ल्याण्ड गर्न दिएका छैनन् । हेलिप्याडमा उनीहरुले ढुंगा थुपारेर बिरोध स्वरुप झण्डा पनि राखेका छन् ।
निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलि उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग उनीहरुको छ । सम्बन्धित निकायले आफ्नो मागहरुलाई वेवास्ता गरेका कारण हेलि उडानमा रोक लगाइएको स्थानीय मिङमार लामाले बताए । ‘आठ दिन अघि नै हामीले हेलि उडान रोक्ने भनेका थियौ,’ उनले भने, ‘सम्बन्धित निकायले तपाईको मागहरु लिखित रुपमा ल्याउनुस् भनेपछि गाउँ भेलाबाट निर्णय गरेर लिखित रुपमा मागहरु गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा पठायौ ।’ पाँच दिनभित्र माग पुरा गर्न भनेपनि पुरा नभएपछि बिरोध स्वरुप हेलि उडान रोकेको उनले जानकारी दिए ।
वडा नम्वर १ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले निषेधित क्षेत्र खुल्ला गरिदिन पटक पटक माग राख्दै आएपनि सरकारले वेवास्ता गर्ने गरेको बताए । ‘स्थानीयको यो माग आजभन्दा धेरै पहिले देखिको हो, प्रधानमन्त्रीसम्मलाई डेलिकेशन र ज्ञापन पत्र त स्थानीयले कति बुझाए बुझाए,’ उनले भने, ‘तर सरकारले एक कानले सुन्ने अर्काे कानले उडाउने ग¥यो ।’ अहिले हेलि बन्द गर्नु त्यहाँको जनताको बाध्यता रहेको भन्दै उनले स्थानीयको समर्थन गरे ।
पर्यटक अलपत्र
स्थानीयले हेलि उडानमा रोक लगाएपछि मनास्लु क्षेत्र पुगेका पर्यटकहरु अलपत्र परेका छन् । मनास्लु हिमाल आरोहण गरेर सामागाउँ आइपुगेका पर्यटकहरु पनि काठमाडौं फर्कन पाएका छैनन् । पर्यटन विभागबाट अनुमति लिएका तीन सय आठ जना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका छन् ।
त्यस्तै यो हप्ता २ सय ४० जना बिदेशी पर्यटक मनास्लु क्षेत्र भ्रमणमा गएको मनास्लु संरक्षण क्षेत्र एमक्यापको तथ्याङ्कमा उल्लेख छ । पर्यटकको चाप भएका बेला हेलि उडान बन्द गर्दा समस्या भएको छ । हेलि मार्फत मनास्लु क्षेत्र आउन खाजेका पर्यटकहरु पनि स्थानीयको बिरोधका कारण आउन पाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागि आवश्यक समन्वय भइरहेको बताए । ‘उहाँहरुको निर्णय हामीले माथि मन्त्रालयमा पठाइसकेका छौ,’ उनले भने, ‘समस्या समाधानका लागि समन्वय पनि भइरहेको छ ।’




