| बुधबार, असार ९, २०८३

आरोहीले खचाखच् मनासलु भिलेज

प्रतीक्षा आले मगर ।
४८०० मिटर उचाइमा अवस्थित मनास्लु बेसक्याम्प अहिले आरोहीले खचाखच छ । पर्यटन विभागबाट अनुमति लिएका तीनसय आठजना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका हुन् । यो सिजनमा नेपालमा सबैभन्दा धेरै आरोहीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।

आरोही, शेर्पा, गाइड, पोर्टर, कुकलगायतका स्वदेशी, विदेशीहरु अहिले बेसक्याम्पमा रङ्गीचङ्गी टेण्ट गाडेर मनास्लु भिलेज बनाई बसोबास गरिरहेका छन् । मनास्लुको काखमा रहेको सामागाउँमा ट्रेकिङमा गएका पर्यटकले भरिभराउ छ भने बेसक्याम्पस्थित मनास्लु भिलेज आरोहीहरुले खचाखच छ । आरोही र पर्यटकका कारण सामागाउँ र बेसक्याम्पमा ठूलो चहलपहल रहेको स्थानीय वीरबहादुर लामा बताउँछन् ।

उनका अनुसार सामागाउँमा भन्दा बढि चहलपहल बेसक्याम्पमा छ । आरोहण सिजन सुरु भएसँगै गाउँलेहरु पनि भारी व्यवस्थापन गर्न आरोहीसँगै बेसक्याम्प पुग्ने गरेको उनले जानकारी दिए । ‘अहिले गाउँमा भन्दा धेरै मान्छेहरु बेसक्याम्पमा छन्’, उनले भने, ‘आरोही, गाइड, भरिया, हिमाल आरोहण गराउने कम्पनी गरेर दैनिक रुपमा कम्तीमा पनि ३०० जना माथि (बेसक्याम्पमा) नै हुन्छन् ।’ हिमाल आरोहण गर्ने सिजन सुरु भएसँगै गाउँमा उत्साह बढेकोे उनी बताउँछन् ।

‘आरोहणको सिजन सुरु भएसँगै स्थानीयबासीले पनि गाइड, भरिया बनेर राम्रो आम्दानी गर्ने गरेका छन्’, उनले भने, ‘हिमाली भेगको आम्दानीको मुख्य स्रोत पर्यटन नै हो, त्यसैले पनि यसको उचित व्यवस्थापन गर्नु जरुरी छ ।’ सामागाउँमा पनि दैनिक ५०–६० जना ट्रेकिङ गर्ने विदेशी पर्यटकहरु आउने गरेको उनले जानकारी दिए । ‘पर्यटनले गर्दा नै यहाँका स्थानीयहरुले काम पाइरहेका छौँ’, उनले भने ।

मनासलु बेसक्याम्पमा यही सेप्टेम्बर १०–१२ देखि टेन्टहरु बाँधेर क्याम्प लगाइएको थियो । अबको ९–१० दिनका उक्त क्याम्प हट्ने सामागाउँका स्थानीयहरु बताउँछन् । यो वर्षका लागि हिमाल आरोहणको समयावधी सकिने लागेपनि ट्रेकिङ सिजन भने मंसिरसम्म चल्ने छ । त्यतिबेलासम्म गाउँमा पर्यटकहरुको रौनक कायमै रहने सामागाउँका होटल व्यवसायीहरु बताउँछन् ।
मनास्लु आरोहणका लागि यसबर्ष ३०८ जना विदेशी आरोहीले अनुमति लिएका छन् ।

२८ टिमका २२६ जना पुरुष आरोही र ८२ महिला अरोही अहिले मनास्लु आरोहणका लागि बेसक्याम्पमा आइसकेका छन् । उनीहरुबाट सरकारले तीन करोड ७१ लाख ४३ हजार १४३ रुपैयाँ राजस्व संकलन गरेको छ । मनास्लुलगायत देशभरका अन्य ९ हिमाल आरोहणका लागि यसबर्ष ३६२ जना आरोहीले अनुमति पाएका छन् । सबै गरी सरकारले चार करोड ५२ लाख ४५ हजार ८४८ रुपैयाँ राजस्व आम्दानी गरेको पर्यटन विभागको अभिलेखमा उल्लेख छ ।

मनास्लु आरोहणका लागि सबैभन्दा धेरै २०७९ सालमा ४०४ जानले अनुमति लिएका थिए । २०८० मा २६ समुहका ३०१ जनाले अनुमति लिएका थिए भने यस बर्ष बढेर ३०८ जनाले अनुमति लिएका पर्यटन विभागकको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्