
हेलीकोप्टर उडान प्रक्रिया सहज बनाउन सामागाउँबासीको माग, माग पूरा नभए गाउँमा हेलीकोप्टर निषेध गर्ने चेतावनी
उत्तरी गोरखामा हेलीकप्टर उडानको प्रक्रिया सहज बनाउन स्थानीयले माग गरेका छन् । हेलीकोप्टर चार्टरका लागि अनुमति लिने सरकारी प्रक्रिया झन्झटिलो रहेको भन्दै सहज बनाउन उनीहरुले माग गरेका हुन् । हेली उडानको बिषयमा छलफल गर्न शुक्रवार चुमनुव्री गाउँपालिका–१ सामागाउँका स्थानीयहरुको आमभेला आव्हान गरिएको थियो ।
भेलाले सरकारको नियम अनुसार कुनै एक कार्यालयको अनुमति लिई हेलीकोप्टर चार्टर गर्ने व्यवस्था मिलाइदिन माग गरेको छ । बिरामी बाहेकका अन्य प्रयोजनका लागि हेली उडानको अनुमति दिन एकसाता भन्दा बढि लाग्ने हुने गरेको उनीहरुको गुनासो छ । ‘यस क्षेत्रमा बिरामी पर्ने पर्यटक तथा स्थानीय, सुत्केरी महिला र दैनिक आवश्यकीय प्रयोजनका लागि हेली उडान गर्न चार्टरवालाले सरकारको बिभिन्न चरणहरु पार गर्दै अनुमति लिनुपर्छ,’ स्थानीय मिङमार लामाले भने, ‘बिरामीलाई वाहेक अन्य चार्टरका लागि अनुमति दिन करिव एक हप्ता लगाईदिन्छ ।’
अनुमतिमा ढिलाई भएकै कारण आपतकालिन कामका हेली चार्टर सफल नहुने भन्दै कुनै एक सरकारी निकायबाट मात्र अनुमति दिने व्यवस्था मिलाउन माग गरिएको उनले बताए । आपतकालिन उडान गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रको स्थानीय प्रहरीको सिफारिसमा चेकजाँच गरी तत्काल उद्धार हुनुपर्ने व्यवस्था मिलाउन पनि स्थानीयले माग गरेका छन् ।
उत्तरी क्षेत्र आउजाउ गर्ने हेलीमा ठाउँ रहेको खण्डमा न्यूनतम महशुल तिरी सम्बन्धित प्रहरी तथा नेपाल सरकारको सरोकारवालाको सिफारिसमा स्थानीयवासी हेली चढ्न पाउने व्यवस्थाका लागि सहजिकरण गरिदिन समेत उनीहरुले आग्रह गरेका छन् । साथै मनास्लु संरक्षण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर पर्यटकसँग बिभिन्न शीर्षकमा शुल्क लिदैँ आएकोप्रति आलोचना गर्दै सामागाउँबासीले पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण नभएको गुनासो गरेका छन् ।
पर्यटकलाई अनावश्यक रुपमा बिभिन्न शीर्षकमा शुल्क लिएर दुख दिने गरेको भन्दै यस क्षेत्रलाई खुल्ला पर्यटन व्यवस्थापनका लागि आवश्यक निर्णय गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् । हेलिकोप्टर उँडानमा सहज बनाउने विषयमा पाँच दिनभित्र माग पूरा नभए सो क्षेत्रमा हेलीकोप्टर उडान गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।
भेलाको निर्णय नंबर ४ मा लेखिएको छ, ‘मागहरुप्रति सम्बन्धित निकायबाट आजको मितिबाट पाँचदिनभित्र लिखित रुपमा सम्बन्धित निकायबाट आम स्थानीयबासीको माग सम्बोधन नभएको खण्डमा तोकिएको मितिपछि यस क्षेत्रभित्र हेलिकोप्टर उडान बन्द गर्नका लागि स्थानीयबासी लागि पर्ने छ भनी निर्णय गरियो ।’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले ‘रेस्क्यू’ को हकमा बिरामीको गम्भिरताको आधारलाई हेरेर बढिमा आधाघण्टा भित्र हेली उडानका लागि सिफारिस गर्ने गरेको बताए ।
चार्टरको हकमा भने बिस्तृत रुपमा बुझेर आवश्यकताको पहिचानको आधारमा सिफारिस गर्ने गरेको उनले जानकारी दिए ।
निषेधित क्षेत्र भएकाले सो क्षेत्रमा हेली उडानका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य छ । आवश्यकताको आधारमा प्रशासनले सिफारिस गरेपछि मात्र हेली उडानको स्वीकृती प्राप्त हुन्छ ।




