
गोरखामा पर्यटन प्रवद्र्धनको सपना र यथार्थ
बिकास मरहट्टा ।
ओहो ! गोरखामा विकासको लहर । पर्यटकको ठेलमठेल । व्यापारी र व्यवसायीलाई भ्याइ नभ्याइ । आर्थिक समृद्धि पनि उस्तै । यो परिकल्पना पूरा हुने दिन गोरखामा सायदै आउला । हरेक हिसावले रित्तिदै र सकिदँै गएको गोरखालाई व्युँताउन अव झिना मसिना र बेतुकका योजनाले सम्भव छैन ।
कस्तुरीले आफ्नै नाभीको सुगन्धी बिना थाहा नपाएजस्तै गोरखाको पर्यटन प्रवद्र्धनका मुख्य कडी के–के हुन् ? भन्ने पहिचान गर्न नसक्नु नै ठूलो कमजोरी हो । अनि कसरी हुन्छ जिल्लामा पर्यटन प्रवद्र्धनको सपना साकार ? बोलीमा मात्र गुन्जिने पर्यटन प्रवद्र्धनको नारा व्यवहारमा पनि उत्तिकै लागू गरिदिएको भए आज जिल्ला मसानघाटजस्तो सुनसान बन्ने थिएन । व्यवसायका सटरहरु बन्द हुने थिएनन् । होटललाई माकुराको जालोले घेर्ने थिएन । बैकको व्याज र ऋण तिर्न नसकेर व्यापारीहरु छट्पटाउने दिन पनि सायद आउदैनथ्यो । युवाशक्ति बिदेशिने र गाउँहरु रित्तिने थिएनन् ।
पर्यटन प्रवद्र्धनका लागि जिल्लामा केही प्रयास नभएका भने होइनन् । केही पालिका र व्यक्ति बिशेष समेत संगठित भएर योजनाहरु बुनिरहेको देखिन्छ । यसलाई सकारात्मक रुपमा लिनु पनि पर्छ । ती योजनाहरु कत्तिको प्रभावकारी र दिर्घकालिक छन् ? भनेर नापजाँच गर्ने कसी नभएपनि योजना कार्यान्वयन पश्चातको नतिजाले त्यसको मापन पक्कै गर्नेछ । त्यसका लागि केही समय धैर्य गर्नुपर्ला ।
तर समस्या कहाँनेर छ भने, सिंहदरवारको अधिकार गाउँगाउँमा भनेर ल्याइएको संघियताले सिंहमात्र गाउँमा छाडेर अधिकार केन्द्रमै कुण्ठित गरेजस्तै पर्यटन प्रवद्र्धनका लागि जिल्लामा बनाइएका कतिपय योजना कार्यान्वयन गर्न केन्द्रको स्वीकृति र निर्णयबिना सम्भव छैन । केन्द्रकै हालिमुहाली भइरहने यो व्यवस्थामा पनि परिवर्तन आउनु जरुरी छ ।
उदाहरणकै लागि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा आउने पर्यटकलाई गोरखा बजारलाई बाइपास गरेर धादिङबाट सिधै आरुघाट पुग्छन् । गोरखा बजारमै ‘इन्ट्री’ गरेर जानुपर्ने व्यवस्था लागू गर्न सके गोरखा बजारले पनि गोरो छाला भएका पर्यटक देख्न पाउथ्यो । तर यो व्यवस्था लागू गर्ने अधिकार न जिल्लालाई छ न त प्रदेशलाई नै । यसमा केन्द्रले एकाधिकार जमाएर बसेको छ । अनि खै त सिंहदरवारको अधिकार गाउँ गाउँमा ? भलै गोरखा नगरपालिकाले यसका लागि लविङ भने गरिरहेकै छ । नगरपालिकाको यो कदममा सबैले होस्टेमा हैँसे मिलाउँदै जानुपर्छ । जिल्लामा क्रियाशिल राजनीतिक दलहरु पनि सत्ता र पदका लागि लुछाचुँडी मात्र गर्ने नभई यस्ता एजेण्डामा ऐक्यवद्धता जनाउँदै आ–आफ्नो तवरबाट केन्द्रमा पहल गर्न अग्रसर हुनुपर्छ ।
झिना मसिना कुरामा पनि पर्यटन प्रवद्र्धनको नारा जोड्ने ट्रेन्ड जिल्लामा चलेको छ । सामान्य खेलकुद प्रतियोगितादेखिका कार्यक्रममा पर्यटन प्रवद्र्धनका नारा जोडिन्छन् । भलै पर्यटन प्रवद्र्धनका निम्ति यसले केही सहयोग मिल्ला तर यस्तो सस्तो लोकप्रियताले जिल्लाको पर्यटन प्रवद्र्धनमा त्यति ठुलो महत्व राख्दैन । कतिपय स्थानीय तहले पर्यटन प्रवद्र्धनका नाममा संचालन गरेका योजनाहरु पनि अर्थहिन देखिन्छन् । डोजरलाई विकास सम्झने र भ्यू टावरलाई पर्यटन प्रवद्र्धनको मेरुदण्ड ठान्ने सोच नबदलिएसम्म पर्यटन क्षेत्रको विकास सम्भव छैन । अर्को अरुको देखासिकी गर्ने प्रवृति पनि जिल्लामा हावी नै छ ।
आवश्यकताको पहिचान गर्दै आफ्नो भूगोल सहाउँदो योजनाहरु कार्यान्वयन गर्न सक्ने क्षमताको अभाव जिल्लाका नेतृत्व तहमा खड्किएको देखिन्छ । अरुको देखासिखी गर्न खप्पिस उनीहरु अरुले ल्याएको योजनामै रमाइरहेका छन् । आफ्नो क्षमता र बलबुताबाट कुनै ठोस् रणनीति र योजना बनाउन सकेको देखिदैन ।
केही उदाहरणहरुलाई स्मरण गरौ । सर्लाहीको भरतताल हेरेर फकिएको गोरखा नगरपालिकाले भौगोलिक अवस्था अध्ययनबिनै छेपेटारस्थित दरौदी नदिमा ताल बनाउने योजना ल्यायो । डिपिआरका लागि बजेट पनि विनियोजन भयो । तर त्यहाँ ताल बनाउन उपयुक्त छ÷छैन, त्यसले पर्यटन प्रवद्र्धनको उदेश्य कति पुरा गर्ला ? यस्ता बिषयमा भने गहन अध्ययन र छलफल भएको देखिदैन । करौडौ खर्चेर बनाइने यस्ता संरचनाहरुको प्रभावकारीता बारे राम्रोसँग अध्ययन गरेर मात्र लगानी गर्नु अति आवश्यक हुन्छ ।
पर्यटन प्रवद्र्धनका नाममा अनावश्यक खर्च गर्दै पार्कहरु बनिरहेका छन् । शालिकहरु ठड्याइएको छ । तर जिल्लाको इतिहासलाई बेच्न सकेका छैनौ, जुन पर्यटन प्रवद्र्धनको मुख्य मेरुदण्ड हो । राज्य एकीकरणको अभियानको दौरानमा भएको बिभिन्न घटनाक्रमका थुप्रै इतिहासहरु यस जिल्लामा जोडिएका छन् । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले राज्य गरेको गोरखा दरवार, नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा जन्मिएको स्थल, दौड जितेर राजा बनेको इतिहास सबै जिल्लामै छन् । यी कुराहरुलाई हामीले पर्यटक सामु बेच्न नसकेको मात्र होइन यी इतिहासको उचित जर्गेना समेत गर्न हामीले सकेनौ । अनि कसरी साकार हुन्छ पर्यटन प्रवद्र्धनका सपनाहरु ?
निराशाभित्र पनि केही आशाहरु हुन्छन् । त्यही आशाहरुलाई शक्तिमा बदल्दै सबै जिल्लावासीहरु एकतावद्ध भएर लागेमा जिल्लामा पर्यटकको ओइरो लाग्ने सम्भावना छ । तर अरुको मुख नताकी सुरुवात आफैबाट गर्नुपर्छ । केही समय यता सुरु गरिएको ‘गोरखा फर्क अभियान’ ले पनि पर्यटन प्रवद्र्धका लागि केही टेवा पक्कै पु¥याउला । दुई दिन जिल्ला आएर होहल्ला गर्ने र जिल्ला वाहिरै रमाउनेमा मात्र सिमित नहोला भन्ने अपेक्षा गरौ ।
यता जिल्लाका होटल व्यवसायीहरुले पनि व्यवस्थापन पक्षमा केही सुधार गर्नु जरुरी छ । सरसफाई र ‘गेष्ट’ को स्वागत सत्कारमा पनि बिशेष ख्याल गर्नुपर्छ । सेवा सुविधाको गुणस्तर बृद्धिमा ध्यान दिनु आवश्यक छ । एक अर्काबीचको अस्वस्थ प्रतिस्पर्धाबाट टाढै रहनुपर्छ ।
गोरखा नगरपालिकाले यो बर्षलाई गोरखा भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरिसकेको छ । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि यो एउटा अवसर पनि बन्न सक्छ । तर दुखको कुरा, छ महिना बितिसक्दा पनि कुनै तयारी देखिदैन । विना तयारी हतारमा बनाइने यस्ता योजना कत्तिको प्रभावकारी होला ? यो सोचनीय बिषय हो ।
साँच्चै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने हो भने पर्यटकलाई जबरजस्ती आउनुस् भन्दै बाध्यकारी अवस्था सृजना गर्नुको सट्टा उनीहरुलाई आकर्षित गर्ने खालका पर्यटन पूर्वाधार र वातावरण तयार गर्न सक्नुपर्छ । अनि उनीहरु आफै गोरखा खोजी खोजी आउनेछन् । गोरखा सबैको रोजाईमा पर्ने छ । अनि बल्ल पर्यटन प्रवद्र्धनको सपना साकार बन्न सक्छ ।




