| बुधबार, असार ९, २०८३

अस्वस्थ प्रतिस्पर्धाले आफै घाटा व्यहोर्दै मनास्लु क्षेत्रका होटल व्यवसायीहरु

पर्यटन तान्ने होडवाजीमा मनास्लु क्षेत्रका होटल व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसको दुष्प्रभाव होटल व्यवसायी आफैलाई परेको छ । पर्यटक आए वापत हुने आम्दानी घट्दै गएको जगतका होटल व्यवसायी गणेश कार्कीले बताए ।
‘यो क्षेत्रमा पर्यटक लिएर आउने गाइड र भरियासँग खाना र आवासको शुल्क लिदैँ आएका छौ,’ उनले भने, ‘तर अहिले पर्यटक ल्याए खान बस्न पैसा लिन्न भन्दै केही होटल व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गर्न थालेका छन् ।’ यसले मनास्लु क्षेत्रको समग्र होटल व्यवसायीको आम्दानीमा असर परेको उनले जानकारी दिए ।
होटल व्यवसायीको हकहितका लागि भन्दै मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले २०७५ साल असोज १ गतेबाट गाइड र भरियासँग खाना र आवासको पैसा लिदैँ आएको छ । यसअघि उनीहरुसँग शुल्क लिइदैनथ्यो । जगत चेकपोष्टमा नै गाइडहरुसंग खानाको पैसा लिएर कुपन दिने व्यवस्था छ । तर पछिल्लो समय गाइडहरुले कुपन काट्न आनाकानी गर्ने गरेको उपसमिति अध्यक्ष समेत रहेका कार्कीले बताए । ‘केही होटलहरुले हाम्रोमा पर्यटक ल्याए तपाईहरुलाई खान बस्न निशुल्क भन्न थालेपछि गाइडहरुले कुपन काट्न आनाकानी गर्न थालेका छन्, अर्काे मान्छेको संंख्या घटाएर टिपाउछन्,’ उनले भने ।
यसको दुष्प्रभावले होटलहरुको आम्दानी समेत घटेको उनको भनाइ छ । गत बर्ष यो सिजनमा कुपनबाट करिव ८५ लाख संकलन भएपनि यो बर्षको सिजनमा ६५ लाखमात्र संकलन भएको उनले जानकारी दिए । उपसमिति मार्फत संकलन भएको रकम मनास्लु क्षेत्रका सबै होटल व्यवसायीलाई बराबरी बाँडफाँड हुदैँ आएको छ । प्रति व्यक्ति दुई सयका दरले रकम लिने गरेपनि कोरोनापछि दुई सय ५० लिने गरेको बताइएको छ ।
तर होटल व्यवसायीबीच भएको अस्वस्थ प्रतिस्पर्धाले पर्यटकको संख्या बढेपनि आम्दानी भने घटेको कार्कीले गुनासो गरे । पैसा तिरेर पर्यटक तान्ने होडवाजी बढेको उनको भनाइ छ । ‘गेष्ट ल्याएपछि गाइडलाई एक छाक खान र बस्न फ्रि गरुम भन्दा केही भएन, तर उनीहरुसँग पोर्टरहरु पनि हुन्छन् । एक जनामात्र पोर्टर भए त ठिकै हो तर कहिले चार–पाँच जना पोर्टर हुन्छन् । सबैलाई निशुल्क गर्दा हामी मर्कामा पर्छाै,’ उनले भने । अस्वस्थ प्रतिस्पर्धाले करिव दुई बर्ष यता होटलका कोठाहरु ‘फ्रि’ मा जान थालेको उनले गुनासो गरे । भने, ‘पर्यटक ल्याए वापत केही गाइडहरुले डिस्काउन्ट माग्न थाले, एक दुइ जना व्यवसायीले दिन थालेपछि गाइडले सबै ठाउँमा त्यही खोज्यो । हुदाँ हुदाँ खाना र रुम फ्रि भन्न थाले, त्यो पनि केही होटलले मानेपछि पर्यटक आउने लोभले रुम र खाना फ्रि हुन थाल्यो ।’ लगानी गरेर कोठाहरु थप गरेपनि लगानी अनुसारको आम्दानी हुन नसक्दा समस्या भएको उनले बताए ।
यस बिषयमा पालिका र मनास्लु संरक्षण क्षेत्र आयोजनासँग छलफल समेत भएको बताइएको छ । कोठाको शुल्क अनिवार्य गर्ने भन्दै व्यवसायीहरुबीच पनि पटक पटक छलफल समेत भइरहेको छ । कुपन प्रणालीलाई कडाईका साथ लागू गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्