
मनासलु क्षेत्रमा १० वटा पदमार्ग बन्ने
पछिल्लो समय लोकप्रिय बन्दै गएको गोरखाको मनासलु संरक्षण क्षेत्रमा १० वटा छुट्टाछुटै पदमार्गहरु बन्ने भएको छ । गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रममा उक्त पदमार्गहरु निर्माण हुने भएको हो ।
पर्यटन तथा उद्योग कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चुमनुब्री गाउँपालिका– ५ स्थित छयाक्सा गाङ्गदेखि सेराङ्ग गुम्बासम्मको पदमार्ग निर्माण हुने भएको हो । उक्त पदमार्ग निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
प्रदेश सरकारले चुमनुब्री–७ अन्तरगत छेकम्पार पारो पर्यटकीय पलमार्गका लागि २० लाख, वडा नं–१ मा पर्ने सामागाउँदेखि पुङ्गेन गुम्वासम्मको पदमार्गका लागि २० लाख, वडा नं–२ को स्याला–डाङमाङ– पुङ्गेन गुम्बा पदमार्गका लागि २० लाख र वडा नं–३ को पैयोपुलदेखि पातीगाउँ हुँदै फिलिम पर्यटन पदमार्गका लागि ५ लाख रकम बिनियोजन गरेको छ ।
यसैगरी, चुमनुब्री–६ मा पर्ने चुम्चेतदेखि प्रागाउँसम्मको पदमार्ग निर्माणका लागि पनि २० लाख रकम बिनियोजन भएको छ । वडा नं–४ स्थित छाकदेखि गाउँपालिका भवन जाने पदमार्ग निर्माणका लागि २० लाख, वडा नं–३ अन्तरगतको न्याकदेखि १०८ धारा जाने पदमार्गका लागि ३० लाख र वडा नं–४ मा पर्ने पुलदेखि छाक गाउँसम्मको पदमार्ग निर्माणकालागि २० लाख बजेट आएको पर्यटन तथा उद्योग कार्यालय गोरखाले जनाएको छ ।
प्रदेशले मनासलु क्षेत्रमा पदमार्ग निर्माणकालागी मात्र यो वर्ष १ करोड ८५ लाख रकम बिनियोजन गरेको छ । पदमार्ग निर्माण भएसँगै मनासलु घुम्न आउने पर्यटनको सङख्यामा बृद्धि हुने बिश्वास लिइएको छ ।




