| बुधबार, असार ९, २०८३

टानको अध्यक्षमा गोरखाका पाण्डे निर्वाचित

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा गोरखाका सागर पाण्डे भारी मतसहित विजयी भएका छन् । निकटत्तम प्रतिस्पर्धी राजेन्द्रप्रसाद सापकोटालाई एकसय मतले पछि पार्दै पाण्डे ५८० मत प्राप्त गरी नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन (टान) को अध्यक्षमा निर्वाचित भएका हुन् ।
टानको दुईवर्षे नयाँ कार्यकालका लागि गत सोमबार निर्वाचन भएको थियो ।
भीमसेनथापा गाउँपालिका ६ अश्राङका पाण्डे टानको सन् २०१३–०१५ का महासचिवसमेत हुन् ।
नेपालका करिब एक हजार ट्रेकिङ कम्पनीहरू आवद्ध टानको महासचिवमा सोनाम ग्यल्जेन शेर्पा भएका निर्वाचित छन् । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा रिञ्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।
सदस्यहरुमा पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद कुमार तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे), बिकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित भएका छन् ।
पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीका संस्थापक सञ्चालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्