
धमाधम टिप्न थालियो क्य्राक गाउँको स्याउ
प्रतिक्षा आले मगर ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ क्य्राक गाउँमा स्थानीय जातको गोल्डेन स्याउ लटरम्मै पाकेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार हुने स्थानीयहरुले जानकारी दिए । स्याउ खेतीका लागि क्य्राक गाउँ निकै उपयुक्त मानिन्छ ।
उत्पादन धेरै भएता पनि बजार अभावका कारण त्याहाँका स्याउहरु गाउँबस्ती र स्थानीय बजारमै सीमित हुने गरेको स्याउ व्यवसायी एवं चुमनुब्री ५ का वडाअध्यक्ष काल्देन छेवाङ बताउँछन् ।
‘मेरो बगैँचामा लोकल जातका ४० वटा स्याउका बोटहरु छन्’, उनले भने, ‘यो वर्ष ७०० केजी स्याउ उत्पादन हुने अनुमान छ । तर बजार अभावका कारण बाहिर भने पठाउन सकिन्नँ ।’ उत्पादित स्याउहरु सामागाउँ, ल्हो, फिलिम लगायतका क्षेत्रहरुमा पठाउने योजना रहेको उनले बताए ।
‘यो साल सामागाउँमा पुजा छ रे र त्यहाँबट ३०० केजी स्याउको अर्डर आएको छ’, उनले भने, ‘बाँकी स्याउ खच्चडलाई बोकाएर वरपरका गाउँहरुमा पठाउने योजना छ ।’ यो वर्ष धेरै उत्पादन नभएको उनी बताउँछन् । ‘सोँचे जस्तो धेरै उत्पादन भयो भने पनि बजार छैन, सबै खेर जान्छ’, उनले भने ।
क्य्राक गाउँका अधिकांश स्थानीयहरुको घरमा स्याउका बोटहरु छन् । निकै स्वादिष्ट मानिने क्य्राकको स्याउ यातायात अभावका कारण गाउँमै सिमित हुने गरेको छ । ‘स्याउ खेतीका लागि यहाँको हावापानी उपयुक्त छ, यातायात व्यवस्था हुन्थ्यो भने सबैले व्यवसायिक स्याउ खेती गर्थे’, काल्देन छेवाङले भने ।




