| बुधबार, असार ९, २०८३

मनास्लु क्षेत्रमा हालसम्मकै धेरै पर्यटक

गत आर्थिक बर्ष २०८०/८१ मा ९ हजार ७८२ जना बिदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो संख्या अहिलेसम्मकै धेरै हो । आयोजनाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ हजार ७०५ जना पर्यटक मनासलु क्षेत्र प्रवेश गरेका थिए । आर्थिक वर्ष २०७८/७९ मा २ हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए । वर्षेनी पर्यटकको सङख्यामा बृद्धि हुदैँ गएको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए ।

एमक्यापले आव २०८०/८१ मा दश हजार पर्यटक भित्राउने लक्ष्य राखेको थियो । ९७.८२ प्रतिशत लक्ष्य प्राप्त भएको बताइएको छ । चालु आव २०८१/८२ मा १५ हजार पर्यटन भित्रयाउने लक्ष्य रहेको एमक्यापले जनाएको छ । ‘कोभिडका कारण बिगत चारबर्ष पर्यटकको संख्या ज्यादै न्यून रह्यो,’ आयोजना प्रमुख शेरचनले भने, ‘आव २०७७/०७८ मा सबैभन्दा कम अर्थात जम्मा एक सय ९४ जना पर्यटक मात्र सो क्षेत्रमा पुगेका थिए ।’ सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या आव २०७६/७७ मा ५ हजार ३३८ र २०७५÷७६ मा ७ हजार ६५५ जना रहेको थियो ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रति ब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । पर्यटकले काठमाण्डौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनु पर्ने व्यवस्था छ । यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए । निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ ।

विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि सिजनमा पर्यटकले प्रति व्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेसिजनमा २५ डलर मात्र । त्यस्तै नुव्री भ्यालीका लागि सिजनमा प्रति व्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एकहप्ता बाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउन पर्नेछ हुन्छ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको सात वटा वडा पर्दछन् ।

साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रुपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्