| सोमवार, कार्तिक २३, २०८३

गोरखाली आँटिला चेलीहरु

गोरखाकी पूर्णिमा श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६ः४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिडिशन कम्पनीबाट उनले आरोहण गरेकी हुन् । यसअघि उनले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् ।

त्यसपछि विश्वका आठहजार मिटरभन्दा अग्ला आठ वटै हिमाल उनले लगातार आरोहण गरिसकेकी छन् । मनास्लु र सगरमाथा भने दुई–दुईपटक आरोहण गरेको उनले बताइन् । यससँगै उनले विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालको शिखर १० पटक चुम्न सफल भएकी छिन् ।

आरुघाट निवासी पूर्णिमाबाहेक गोरखाका अरु तीन छोरीहरु पनि सगरमाथा आरोहणको क्रममा रहेका छन् । सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी फुञ्जो झाङ्मु लामा आफ्नै रेकर्ड ब्रेक गर्दै सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । चुमनुब्री गाउँपालिका ७ छेकमपारकी फुञ्जो अहिले बेसक्याम्पमा आरोहण अभ्यासमा व्यस्त छिन् ।

त्यस्तै चुमनुब्री १ सामागाउँकी नाङ्साल छ्वेदोन लामा पनि सगरमाथा आरोहणको तयारी गर्दैछिन् । गतबर्ष मनास्लु आरोहण गरिसकेकी उनले यसबर्ष सगरमाथा आरोहण गर्न लागेकी हुन् । त्यस्तै धार्चे ५ गुम्दाकी नानुमाया गुरुङ पनि अहिले विश्वकै थौथो र नेपालको तेस्रो अग्लो ल्होत्से हिमाल आरोहणको क्रममा छिन् । सगरमाथा आरोहण गरिसकेकी उनी अहिले ८,५१६ मिटर अग्लो ल्होत्से आरोहणको तयारी गरिरहेकी हुन् । ल्होत्से आरोहण गरेपछि लगत्तै सगरमाथा आरोहण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्