| सोमवार, कार्तिक २३, २०८३

मनास्लु आरोहण दिवसको अवसरमा पर्यटक सम्मान

बिहिबार बिहान मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले स्वागत र सम्मान गरेको छ । ६८ औँ मनास्लु आरोहण दिवसको अवसरमा आयोजित मनास्लु उत्सवको कार्यक्रम अनुसार सो क्षेत्रमा प्रवेश गर्ने पहिलो पर्यटकलाई गाउँपालिकाले खादा, माला लगाएर स्वागत तथा सम्मान गरेको हो ।


गाउँपालिकाका अध्यक्ष निमा लामा, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने, मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचन तथा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले पर्यटकहरुलाई स्वागत, सम्मान गरेका हुन् ।
विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल सन् १९५६ मे ९ मा प्रथम पटक जापानी नागरिक तोसीे इमानुसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले मनास्लु आरोहण गरेका थिए । सोही अवसरमा पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजना र धार्चे मनास्लु पर्यटन विकास समितिको सहयोगमा चुमनुब्री गाउँपालिकाले मनास्लु आरोहण दिवस मनाएको छ ।


सो अवसरमा चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा बिहिबार विहान सांस्कृतिक झाँकीसहितको प्रभातफेरी आयोजना गरिएको छ । साथै दिउसो मनास्लु हिमालको पुजाआजा र औपचारिक कार्यक्रम गरी मनास्लु आरोहण दिवस मनाइँदैछ । कार्यक्रमको अवसरमा त्यहाँको गुरुङ तथा भोटे लामा समुदायमा प्रचलित विविध संस्कृतिक प्रदर्शनी गरेर मनास्लु दिवस मनाउन लागेको जानकारी उनले दिए ।


बिगत बर्षमा दिवसको अवसरमा काठमाडौँमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्थ्यो । यो वर्ष भने पहिलो पटक गाउँपालिकाको आयोजनामा गाउँपालिकामै मनाउन लागिएको गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाइ छ । गाउँपालिकाले यसलाई हरेक बर्ष निरन्तर रुपमा मनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ६९ औँ दिवस मनास्लु हिमाल रहेको चुमनुब्री १ सामागाउँमा दिवस मनाउने र ७० बर्ष पूरा गरेपछि विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउने गाउँपालिकाका अध्यक्ष लामाले बताए ।


प्रसिद्ध मनासलु पदमार्गमा यो आर्थिक वर्षको ९ महिनामा आठ हजार चारसय ५४ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्याप कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । सगरमाथापछि सबैभन्दा धेरै बिदेशी पर्यटकले मनासलु हिमाल आरोहण गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्