
पर्यटकलाई प्यास मेटाउन मनास्लुको प्रशोधित पानी
मनास्लु क्षेत्र भ्रमण गर्न आएका विदेशी पर्यटकलाई प्यास मेटाउन मनास्लु हिमालको प्रशोधित पानी दिन सुरु गरिएको छ । पर्यटकलाई स्थानीय स्रोतको पानीले सत्कार गर्ने उद्देश्यले मनास्लु हिमालको पानीलाई प्रशोधन गरी वितरण गर्न सुरु गरिएको हो ।
स्थानीय नोर्लिङ होटलका सञ्चालक मिङ्मा छिरिङ लामाले सामागाउँमा आएका पर्यटकलाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउन हिमालयन एलिक्सार खानेपानी उद्योग स्थापना गरेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँमा प्रशोधित पानी उत्पादन गर्ने सो उद्योगको लामा गुरु मिङ्ग्युर रिम्पोछेले उद्घाटन गरेका छन् ।
यसअघि धादिङ तथा काठमाडौँबाट महंगो ढुवानी भाडा तिरेर ल्याएको खानेपानी उपलब्ध गराउने गरिएको थियो । स्थानीय स्तरमै प्रशोधित पानी उत्पादन हुन थालेपछि पर्यटकलाई शुद्ध, स्वच्छ र सफा खानेपानी दिन पाएको लामाले बताए ।
‘हामी अहिलेसम्म धादिङको पानी ल्याउँथ्यौँ । त्यति टाढादेखि ढुवानी गरेर ल्याउँदा एकातिर ढुवानी भाडा नै प्रतिबोत्तल एक, डेढसय पर्न जान्छ त्यसमा लागत कटाएर, दुईचार पैसा नाफा राखेर बेच्दा प्रतिबोत्तल दुईसय रुपैयाँमा बेच्ने गरिन्थ्यो’, मिङ्मा छिरिङ भन्छन्, ‘यहीँ उद्योग सञ्चालन भएपछि पहिलो फाइदा त मनास्लुको पानी पर्यटकलाई खुवाउन पाइयो ।
दोस्रो महत्वपूर्ण कुरा, बाहिरबाट ढुवानी गरेर ल्याएको पानी भन्दा यो पानी आधै सस्तो प¥यो । प्रशोधन गरेर किटाणुमुक्त बनाएको स्थानीय मुहानकै पानी पाएपछि पर्यटक पनि खुशी, हामी पनि खुशी ।’
दैनिक एकहजार बोत्तल पानी उत्पादन गर्नसक्ने क्षमताको मेसिन ल्याएको उनको भनाइ छ । ‘तर हामी आवश्यक जति मात्र उत्पादन गर्छौँ’, उनले भने, ‘भर्खर उत्पादन सुरु हुन सुरु भएको हो, त्यसैले आफ्नै होटलमा आएका पर्यटकलाई मात्र यो पानी उपलब्ध गराउने गरेको छु ।
पछि अल्लि धेरै परिमाणमा उत्पादन हुन थालेपछि अरु होटलहरुमा पनि वितरण गर्नेछु ।’ ल्हो, ल्ही, सामागाउँ, साम्दो लगायतका ठाउँका होटलहरुलाई सप्लाई गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
मुहानको पानी सिधै पिउँदा पानीमा किटाणु हुनसक्ने भएकाले पर्यटकले प्रशोधित पानी नै मन पराउने उनको भनाइ छ । ‘हामीले प्राविधिक परीक्षण गरेर, कम्पनी रजिस्टूर्ड कार्यालय र कर कार्यालयमा दर्ता गरेर उद्योग सञ्चालन गरेको छु’, उनले भने, ‘मनास्लुकै पानी खान पर्यटक पनि खुशी हुन्छन् ।
होटल व्यवसायी पनि खुशी, उद्योग सञ्चालक पनि खुशी हुन्छ्न् ।’ मनास्लुको हिउँ पग्लेर झरेको पानी पिउन पाउँदा पर्यटक उत्साहित हुने उनले बताए ।




