
आन्तरिक पर्यटकले भरिँदै गोरखाको भीमसेन पार्क
गोरखा : नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन् । भीमसेन पार्क स्थानीय पर्यटकको गन्तब्य स्थल बनेको हो ।
विशेष गरी छुट्टीको दिन अथवा शनिबारको दिन भीमसेन पार्क घुम्न आउने आन्तरिक पर्यटकहरु को भीड नै लाग्ने गरेको छ । विसं १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो । पीपलथोकमा थापाको पूर्णकदको सालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । ‘गोरखाको नाम आउने वित्तिकै भीमसेन थापाको पनि नाम जोडिहाल्छ’ उनले भने ‘हामीले निर्माण गरेको भीमसेन उद्यानमा यहि वर्ष भित्र शालिक राख्ने गरी काम अघि बढाउँदै छौँ । शालिक राख्ने ठाउँ बनि रहेको छ । अब छिटै शालिक पनि राख्छौँ ।’ नगर प्रमुख पन्तले पार्कलाई ब्यवस्थित बनाई आन्तरिक सँगै बाह्य पर्यटकको रोजाईमा भीमसेन पार्क बनाउने नगरपालिकाको उदेश्य रहेको समेत बताए । त्यस्तै भीमसेन पार्क सम्म जाने सडक स्तरोन्नतीको लागि ५० लाख रुपैँया छुट्याइएको छ । भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ । ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनास्लु, हिमाल चुली, गणेश हिमाल, लम्जुङ हिमाल, माछापुच्छ्रे लगायत हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । 
साथै जिल्लाको चर्चित तथा ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिग कोटको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै भीमसेन पार्क निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले दुई रोपनी जग्गा दान गरेका छन् । सोही जग्गामा एक रोपनी थपेर उद्यान निर्माण गरिएको हो । यस अघि आर्थिक वर्ष २०७२÷७३ मा गोरखा नगरपालिका अन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न रु पाँच लाख, आव २०७३÷७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रम अन्तर्गत रु आठ लाख र गोरखा नगरपालिकाले रु तीन लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन् । उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ । फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरु बनाइएको ा छ ।
सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठिन छ । यसवर्ष सडक सुधार गरी बर्खामा पनि सवारी चल्न सक्ने बनाउने तयारी गोरखा नगरपालिकाले थालनी गरेको नगरप्रमुख पन्तले बताए । ‘अहिले बाटो कच्ची छ । तर सबै खाले सवारीसाधन पार्कसम्म जान सक्छन् । तर, बर्खायाममा त्यहाँ जान आउन समस्या हुने भएकोले आगामी वर्खायाम अगावै सडक स्तरोन्नती गरी हिउँद बर्खा नै सहजै पार्कमा जान आउन सक्ने बनाउने तयारीमा गोरखा नगरपालिका जुटेको छ ।
’भीमसेन उद्यान निर्माण समितिका अध्यक्ष मकर गुरुङले आन्तरिक पर्यटकहरु आउनेक्रम बढ्न थालेको बताए । ‘गोरखा बजारमै घर भएका तर अहिले सम्म त्यहाँ नपुगेकाहरु अहिले जाने गर्नु भएकोछ’ उनले भने ‘यसको प्रचार प्रसार केहि त भएकै रहेछ ।
किन भने तनहुँ, चितवन तिरबाट पनि केहि मानिसहरु घुम्न आउन थाल्नु भएको छ । हामीले अझै विदेशी पर्यटकलाई भने आकर्षण गर्न सकेका छैनौँ । यहाँ सबै खाले निर्माणको काम सम्पन्न गरेर आन्तरिक सँगै बाह्य पर्यटकहरु भित्राउने लक्ष्य रहेको छ ।’ उद्यान नजिकै होम स्टे पनि सञ्चालमा रहेको छ ।
उक्त होम स्टेमा अहिले विभिन्न क्षेत्रका मानिसहरु आएर रमाइलो गर्दै रात विताउने गरेको स्थानीयहरु बताउँछन् । त्यस्तै गोरखा नगरपालिकाका प्रमुख पन्तले गोरखाको पर्यटन विकासको लागि आफुहरुले गुरुयोजना बनाउन तयारी थालेको समेत बताए । ‘यहाँको पर्यटन विकासको लागि गुरुयोजना बनाएर अघि बढ्दै छौँ’ उनी भन्छन् ‘चिल्डूेन पार्क आएकाहरु लाई पीपलथोकस्थित भीमसेन उद्यानसम्म पर्यटक ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिने थियो । त्यस्तै गोरखा दरबार आउनेहरुलाई यहाँ सम्म ल्याउने वातावरण नगरपालिकाले तयार गर्दैछ । यसमा सबैको साथ अपरिहार्य छ ।’




