
विदेशी पर्यटकलाई मनास्लुको काखमा ध्यानयोग
मनास्लु क्षेत्र भ्रमण गर्न आएका विदेशी पर्यटकलाई यहाँको एक गुम्बा परिसरमा ध्यानयोग सिकाउने गरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँमा अवस्थित पेमा छ्योलिङ गुम्बामा दैनिकजसो विदेशी पर्यटक र उनीहरुको पथप्रदर्शकलाई ध्यान र योगा सिकाउने गरेको प्रमुख लामा छेवाङ जिग्मेले जानकारी दिए ।
विश्वको आठौँ अग्लो मनास्लु हिमालको काखमा अवस्थित पेमा छ्योलिङ गुम्बा परिसरमा ध्यान र योगा सिक्न पाउँदा पर्यटक अत्यन्तै खुशी हुने गरेको लामाले बताए ।
‘गाउँका विभिन्न ठाउँमा ध्यान तथा योग सिक्न चाहनेहरुले सम्पर्क गर्नुहोला भनेर सम्पर्क नंबरसहितको सूचना टाँसिएको छ । त्यो पढेर पर्यटकहरुलाई ध्यान र योग सिक्न चाहे भने सम्पर्क गर्छन्’, लामा जिग्मेले भने, ‘अनि मनास्लु हिमालको फेदमा रहेको पेमा छ्योलिङ गुम्बाको चौरमा बिहान एकघण्टा, साँझ एकघण्टा ध्यान र योगा सिकाउँछु ।’ साथै ४५० बर्ष प्राचीन सो गुम्बाको बिषयमा, गुम्बामा रहेको प्राचीन मूर्ति, धर्मग्रन्थ आदिको विषयमा र यहाँको संस्कार, संस्कृतिको बिषयमा पनि जानकारी गराउने गरेको उनले बताए ।
‘यसो गर्दा पर्यटकहरु असाध्यै रमाइलो मान्छन्’, लामाले भने, ‘उनीहरुले पनि नयाँनयाँ कुरा जान्ने र सिक्ने मौका पाउने, हाम्रो धर्म, संस्कृतिको बारेमा पनि प्रचार प्रसार हुने हुँदा यो धेरै राम्रो भएको छ ।’




