
मनास्लुसहित तोकिएका पर्यटकीय गन्तव्यमा गाइड लानै पर्ने
निषेधित क्षेत्रका रुपमा रहेको गोरखाको मनास्लु क्षेत्रमा गाइड लिएर मात्र भ्रमण गर्न जानु पर्ने नियमलाई सरकारले अझै कडाइ गरेको छ । साथै पदयात्रालाई थप सुरक्षित बनाउन भन्दै दुई वा त्यो भन्दा धेरै पर्यटक मात्र भ्रमणमा जानु पर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारले निर्णय गरेको हो ।
यस व्यवस्थालाई कडाइका साथ लागु गर्न स रकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली, टिम्स (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरुवात गरेको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।
नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सुरु गरिएको हो । यो मापदण्ड शनिबारबाट नै लागू हुनेछ ।
पदयात्री एवम् पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिम्स अनुमति पत्र लिनुपर्नेछ । अर्थात् अबबाट कोही पनि समूहमा मिलेर जटिल स्थानतर्फ (विशेष गरी) हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिनागाइड जान नपाइने भएको हो । तर हिमाल आरोहण अनुमति पत्र लिई हिमाल आरोहण जाने आरोहीले टिम्स अनुमति पत्र लिनु पर्नेछैन । अध्यागमन विभागबाट अनुमति पत्र लिई नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकका लागि टिम्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ ।
कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किराँतीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भूमिका खेल्ने बताए । उनले आफ्नै पालोमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘‘हाम्रो देशको आर्थिक विकासमा पर्यटनको क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ, हाम्रो पालामा नै हामीले पर्यटनमा ठूलो विकास गर्नुपर्नेछ । प्रविधि र पर्यटनको क्षेत्रमा हामी एक पाइला अघि बढेका छौँ । यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेछ ।’’
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेसन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताए । उनले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबबाट भने अनिवार्य रूपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरेको जानकारी दिए । नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरू हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको बताए ।
उनले पथप्रदर्शक लैजानुपर्ने व्यवस्थाले पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने र नेपालका अहिलेसम्म पथप्रदर्शक नभएका कारण चाहेको ठाउँमा पुग्न नसकेका पर्यटकका लागि सुरक्षित अवस्था आउने भनाइ राखे ।
‘‘आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेसन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम लएर आएको छ । आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जान सक्थे थियो तर उनीहरूले अनिवार्य रूपमा गाइडहरू लैजानुपर्ने व्यवस्था थिएन । तर बारम्बार नेपालमा प्रत्येक सिजनमा एफआईटीहरु हराउने, कुनै खालका दुर्घटना हुने र समयमा नै उद्धार हुन नसक्दा मृत्युवरण गर्नुपरेको थियो । जसकारण एफआईटी पठाएर मात्रै ‘ट्रेकिङ’मा जाने व्यवस्था गरेको हो ।,’’ उनले भने, ‘‘पदयात्रालाई सुरक्षित बनाउन हामीले यो पथप्रदर्शक अनिवार्य चाहिने व्यवस्था गरेका हौँ । यसले नेपालको पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने, पदयात्री भएपछि जुनकुनै पनि ठाउँमा पर्यटकहरू जानसक्ने स्थिति सिर्जना हुन्छ । नेपालको पदयात्रा अब पहिला भन्दा बढी सुरक्षित हुनेछ ।’’
त्यस्तै, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष नीलहरि बाँस्तोलाले टिम्सको व्यवस्थालाई कार्यान्वयनको पक्षमा लैजान संस्था प्रतिबद्ध भएर लाग्ने बताए । उनले सरकारले जटिल स्थानहरूलाई पथप्रदर्शक बिना जान र अनुमति लिएर मात्रै जाने क्षेत्रहरू सीमाङ्कन गरेको जानकारी दिए । साथै अध्यक्ष बाँस्तोलाले यो व्यवस्थाले नेपालमा पर्यटकको आवागमनलाई झनै व्यवस्थित बनाउने बताए । उनले कतिपय क्षेत्रबाट भने यो व्यवस्था हुन नहुने माग पनि आइरहेको जानकारी दिए ।
कञ्चनजंगा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास ‘ट्रेकिङ’, एभरेष्ट बेसक्याम्प, गोक्यो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोक्यो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउण्ड धौलागिरी, अपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनास्लु हिमाल, गणेश हिमाल,लाङटाङ, गोसाईंकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पा लगायतका स्थलहरूमा अनिवार्य रूपमा पथप्रदर्शक आवश्यक पर्नेछ । यी क्षेत्रमा पदयात्रीको साथमा जाने १० वर्ष भन्दा कमका बालबालिकाको हकमा भने अनुमति पत्र लिनु नपर्ने बताइएको छ ।




