
एक वर्षमा ७७ हजारले घुमे गोरखा संग्रहालय
आर्थिक वर्ष २०७४÷०७५ मा ७७ हजार भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकले गोरखा संग्राहलय अवलोकन गरेका छन् । नेपाल एकिकरण उद्गम थलोको रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकहरुको संख्या ७७ हजार भन्दा धेरै पुगेको गोरखा संग्राहलयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
‘गोरखा र नेपालको ऐतिहासिक विषयमा अध्ययन गर्नेहरु गोरखा आउने गर्छन’ उनले भने ‘संग्राहलयको बनोट, यहाँ भएका विषयबस्तु, शाह वंशको इतिहास, नेपाल एकिकरण लगायतको बारेमा अध्ययन गर्नुपर्ने भएकोले विशेष गरी विद्यार्थीहरु यहाँ घुम्न आउँछन् । संग्राहलयले गोरखा जिल्लाका विभिन्न जातजातीका भेषभूषा र धर्मसंस्कृती झल्कने ग्यालरीहरु राखेको छ ।’
अधिकारीले यस वर्ष राजस्वमा समेत बृद्धि भएको जानकारी दिए । ‘यो वर्ष जम्मा ७७ हजार ७ सय ५३ जना मान्छेले गोरखा संग्राहलयको अबलोकन गरे’ उनले भने ‘उनीहरुबाट १६ लाख ३२ हजार ६ सय ४५ रुपैँया राजस्व उठ्यो । हामी कहाँ आउने विद्यार्थीहरु दुई थरीका छन् । एकथरी म्यूजीयमकार्ड भएकाहरु र अर्काथरी नयाँ विद्यार्थी जोसँग म्यूजीयमकार्ड नभएकाहरु । यि मध्ये ३३ हजार तीनसय ३३ जना टिकेट काटेर आए भने र म्यूजियम कार्ड भएका विद्यार्थीहरु र २ हजार ९ सय जना आए ।’ संग्राहलयले म्यूजीयमकार्ड बनाउन ३० रुपैँया लिने गरेको छ । उक्त कार्ड एक पटक बनाए पुग्छ । त्यस्तै विद्यार्थी बाहेकका अन्य आन्तरिक पर्यटकहरु ३९ हजार ८ सय ९३ जनाले गोरखा संग्राहलय अबलोकन गरेको संग्राहालयले जनाएको छ । त्यस्तै सार्क मुलुकका ७६ जना र अन्य विभिन्न देशका विदेशी पर्यटकहरु एक हजार पाँचसय ५१ जनाले संग्राहलय अबलोकन गरे । संग्राहलयको राजस्वमा विभिन्न कोशेली घरहरुको भाडा समेत जोडिएको प्रमुख अधिकारीले जानकारी दिए ।
उनले संग्राहलय घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा सात प्रतिशत र राजस्वमा १२ प्रतिशत बृद्धि भएको बताए । गोरखा संग्राहलयमा पार्क समेत भएकोले अबलोकनका साथै घुम्न र मनोरञ्जनलिन पर्यटकहरु आउने उनले बताए ।
गोरखा संग्राहलयमा पर्यटकहरुको संख्या बढाउन पुरातत्व विभागसँगको सहकार्यमा संग्राहलय ले गोरखाका विभिन्न जातजाती, धर्म र भेषभुषा झल्कने खालका डमीहरु समेत राखिएको छ ।




