| बिहिबार, असार १०, २०८३

लिगलिगकोटमा संग्रहालय बनाउन आएको रु. ४५ लाख खर्च भएन

गोरखाको पालुङ्टार नगरपालिका २ लिगलिगकोटमा संग्रहालय निर्माणका लागि आएको ४५ लाख रुपैयाँ फिर्ता भएको छ । जग्गा ब्यवस्थापन नहुँदा चालुवर्ष त्यहाँ लिगलिगकोट संग्रहालय बनाउने बजेट खर्च गर्न नसकेको सामाजिक विकास कार्यालयले जनाएको छ ।

‘जग्गा प्राप्तिका लागि पालुङ्टार नगरपालिका, त्यहाँका स्थानीयसँग तीन पटक छलफल ग¥यौँ’, सामाजिक विकास कार्यालयका प्रमुख दीपेन्द्र परियारले भने ‘जग्गा प्राप्ति नहुँदा काम अघि बढ्न सकेन ।’ लिगलिगकोटमा जग्गा प्राप्ति गर्न नजिकै रहेको द्रब्यशाह आधारभूत विद्यालय खालि गर्ने चर्चा समेत थियो । त्यो प्रक्रिया पनि सम्भव नभएपछि सामाजिक विकास कार्यालयले काम अघि बढाउन नसकेको जनाएको छ ।

‘दुईवटा शीर्षकमा गरेर ४५ लाख बजेट थियो’, सामाजिक विकास कार्यालयका प्रमुख परियारले भने, ‘यो बजेट आगामि वर्षपनि निरन्तरता हुने नहुने भन्ने यकिन थिएन, क्रमागत बजेट पनि थिएन ।’ यसअघि पालुङ्टारको लिगलिगकोटमा संग्रहालय बनाउन १४ करोडको स्टमेट गरिएको थियो । ४५ लाख रुपैयाँ मात्रैले देखिने गरी काम सुरु गर्न नपुग्ने, आगामि वर्ष बजेट आउने निश्चित नहुँदा अलपत्र पर्ने सम्भावना रहेकाले पनि कार्यालयले निर्माण सुरु गर्न चुनौति भएको जनाएको छ ।

दुई करोड ९८ लाखको योजना रहेको सामाजिक बिकास कार्यालयमा यो योजना पूरा नहुँदा प्रगति घटेको छ । ‘ठूलो बजेटको काम गर्न नसक्दा हामीले अपेक्षित प्रगती गर्न सकेनौँ’ कार्यालय प्रमुख परियारले शुक्रवार आयोजित सार्वजनीक सुनुवाई कार्यक्रममा भने ।

पालुङटार नगरपालिकाको लिगलिगकोटमा ऐतिहासिकता झल्कने गरी संग्रहालय निर्माण गर्ने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ का लागि उक्त बजेट बिनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्