| बिहिबार, असार १०, २०८३

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।

‘कोभिड–१९ को सङ्क्रमणका कारण लामो समय बन्दीपुरको पर्यटन ठप्पै भयो, उनले भने ‘अहिले जनजीवन सामान्य बनेपछि बन्दीपुर घुम्न आउनेको सङ्ख्या क्रमश बढिरहेको छ ।’ बन्दीपुर आउने अधिकांश पर्यटक घरबासमा बस्न रुचाउने गरेको उनले बताए ।अन्य दिनको तुलनामा शुक्रबार र शनिबार घरबासमा बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको हो । ‘ती दिनमा हामीलाई पाहुना स्वागत गर्न भ्याइनभ्याइ हुन्छ, उहाँहरुको स्वागतार्थ पूर्वतयारी गर्नुपर्ने पनि हुन्छ’ रानाले भने । उहाँका अनुसार एकदिन मात्रै घरबासमा बस्ने गरेर आएका पर्यटक एकदिन मात्रै नभइ दोस्रो दिन पनि बस्ने गरेका छन् ।

‘एक दिन मात्रै बस्दा रहर पुगेन भनेर अर्को दिन पनि बस्नुहुने पर्यटकको सङ्ख्या पनि धेरै नै छ,’ उनले भने । घरबासमा बस्ने पर्यटकलाई बेलुकाको समयमा स्वागत र जाने बेलामा बिदाइ गर्ने गरिएको छ । ‘घरबासमा बस्दा पाहुनाहरुले पारिवारिक वातावरणमा बसेको जस्तो अनुभूति भएको हामीलाई प्रतिक्रिया दिनुहुन्छ, होटलमा बस्दा त्यस्तो अनुभव गर्न सायद पाउनुहुँदैन,’ भने । बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु बानियाँका अनुसार पर्यटकीय मौसमका बेलामा घरबासमा थेग्नै नसकिने भीड हुन्छ । बेमौसममा पनि समूह–समूहमा पाहुना आउने गरेको उहाँले बताउनुभयो । ‘समूहमा आउने पर्यटकलाई यहाँका सबै घरबासमा मिलाएर राख्ने व्यवस्था मिलाइन्छ,’ उनले भने ।

यहाँ बन्दीपुर सामुदायिक घरबास, मोहोरिया घरबास र विन्ध्यावासिनी घरबास सञ्चालित छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा सञ्चालित घरबासले पर्यटक आकर्षित गरेको बताए । ‘बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि घरबासले पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्,’ उनले भने ।

पोखराबाट घरबासमा बास बस्न आउनुभएका हरि पौडेलले घरबासको आतिथ्यता र सत्कार देखेर खुशी लागेको बताउनुभयो । बन्दीपुरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । बन्दीपुर गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य पनि हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्