
नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रको हिनाङ शाखा उद्घाटन

नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रको हिनाङ शाखा उद्घाटन गरिएको छ । चुमनुब्री २ हिनाङमा नवनिर्मित नुब्री हिनाङ ठाङ्ग्रु टासिछ्योलिङ गुम्बाको आइतबार र सोमबार विशेष पूजा गरी उद्घाटन गरिएको हो ।
नेपाल सरकारको सहयोगमा निर्माण सम्पन्न सो गुम्बाको नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रका अध्यक्ष छोचे लामा वाङचुक, मुख्य लामा टुल्कु कर्मा धाम्चोय, र महासचिव लामा साम्दुकले उद्घाटन गरेका हुन् ।

यसअघि निर्माण भएको पुरानो गुम्बा भूकम्पले भत्किएपछि नेपाल सरकार र नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रको सहयोगमा निर्माण गरिएको गुम्बाका मुख्य लामा खेन्पो छ्योग्यालले जानकारी दिए ।
‘नेपाल सरकारको एक करोड एक लाख र उपभोक्ता समितिको २६ लाख ६७ हजार रुपैयाँ लागत साझेदारीमा गुम्बा निर्माण गरिएको हो’, निर्माण समितिका अध्यक्ष खेन्पो कर्मा च्योकोङले भने, ‘निर्माण कार्य सुरु गरेको छ महिनाभित्र यत्तिको भवन निर्माण गर्न सफल भइयो ।’
उद्घाटन समारोहमा वडाअध्यक्ष पेम्बारेता लामा, निर्माण समितिका सचिव छिरिङ धार्के लामालाई अभिनन्दन गरिएको थियो ।
सो गुम्बा वुद्ध धर्मअन्तर्गत काक्यू संप्रदायको हो ।

तिब्बतमा मूल ध्यानकेन्द्र रही नमोवुद्धमा स्थापना भएको यस ध्यान तथा शिक्षा केन्द्रको शाखा क्यालिफोर्निया(अमेरिका), टोरण्टो र भेन्कुवर (क्यानडा), जर्मनी, बेलायत, ताइवान, हङकङ, मलेसियामा चारवटा, सिंगापुर, वनारस, फुलारी(विहार) र नेपालको वौद्ध, सितापाइला, तातोपानी, हिनाङ, मनाङ, नारफु, लुम्बिनीमा पनि सञ्चालित रहेको वाङचुक राप्तेन लामाले जानकारी दिए । उनका अनुसार सो अध्ययन केन्द्रले काठमाडौँमा मंगलदीप बोर्डिङस्कूल, पनि सञ्चालन गरेको छ ।





