| बिहिबार, असार १०, २०८३

गोरखाका तीनवटा होमस्टेलाई प्रदेश सरकारको ३० लाख

गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीन वटा होमस्टे छनौट भएका छन् ।

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले गोरखाका तीन वटा सहित ३० वटा होमस्टेलाई ‘होमस्टे परियोजना’का लागि छनोट गरेको छ । प्रदेश भित्रका ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो ।

गोरखाबाट छनौट भएकाहरुमा धार्चे गाउँपालिका वडा ४ लाप्राकमा रहेको कल्चरल होमस्टे, बारपाकसुलिकोट गाउँपालिका वडा ४ मा रहेको बराह सामुदायिक होमस्टे र पालुङटार नगरपालिका वडा २ मा रहेको लिगलिगकोट होमस्टे रहेका छन् ।

लाप्राक होमस्टेको अधुरो भवन र शौचालय निर्माण गर्न बाँकी रहेको र अन्य दुई वटा होमस्टेको सामुदायिक भवन निर्माण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । छनोटमा परेका तीन वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले ३० लाख नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

छनोटमा परेका र स्वीकृत भएका होमस्टेहरूलाई सो जानकारी गराई होमस्टेहरूसँग स्वीकृत परियोजना र बजेटको परिधिभित्र रही सम्झौता गरी कार्यक्रम कार्यान्वयन गर्न र निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्न समेत प्रदेश सरकारले मन्त्रालयलाई भनेको छ । यी होमस्टेले पाएको १०÷१० लाख अनुदानबाट होमस्टे सुधार र ब्यवस्थापनका काम गर्नुपर्नेछ ।

तनहुँको बन्दिरपुर गाउँपालिका ४ मा पर्ने बिमलनगर सामुदायिक होमस्टे पनि १० लाख रुपैयाँ पाउनेको सुचीमा छ ।

प्रतिक्रिया दिनुहोस्