| बिहिबार, असार १०, २०८३

गोरखामा पुस ५ देखि १५ सम्म चेम्वरले मेला गर्ने

चेम्वर अफ कमर्सले पुस ५ गतेदेखि १५ गते सम्म गोरखामा मेला गर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै चेम्वरले कृषि तथा ब्यापार प्रर्वद्धन मेला २०७८ गर्न लागेको जानकारी गराएको हो ।


‘मेलामा कृषि उत्पादनको प्रर्दशनी, घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीको प्रर्दशनी हुनेछ’ चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने ‘कोरोनाले थलिएको गोरखाको ब्यापार ब्यवशायलाई चलायमान बनाउन मेला गर्न लागेका हौँ ।’


मेलाले गोरखाको होटल ब्यवशाय, अन्य ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसार हुनेमा आशाबादी रहेको उनले बताए । मेलामा तीन करोड भन्दाबढिको कारोबार हुने अपेक्षा चेम्बरको छ । ‘मेला संचालन गर्न हामीलाई ४३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ’ अध्यक्ष श्रेष्ठले भने ‘चेम्बरका सदस्यबाट दुई लाख संकलन गर्ने र टिकट, बाल उद्यान, स्टल बिक्री, प्रायोजकबाट अन्य खर्च जुटाउनेछौँ ।’ बिभिन्न कम्पनी सँग प्रयोजनका लागि छलफल भईरहेको चेम्बरले जनाएको छ ।


१० दिन चल्ने मेलाको ५० हजार जनाले अबलोकन गर्ने अनुमान रहेको चेम्बर अफ कमर्सका महासचिव रामस्वरुप श्रेष्ठले बताए । मेलामा एक सय ३० वटा स्टल रहने बताइएको छ । ती मध्ये ३० वटा कृषि तथा घरेलु उत्पादनलाई र बाँकी एक सय वटा ब्यापारीक प्रयोजनका लागि छुट्याइएको छ । बाल उद्यानका पिङ, बिभिन्न खेलहरु पनि संचालन हुनेछ ।


चेम्बर अफ कमर्सले मेला स्थल हरमटारी खेलमैदान मर्मत र संरक्षणका लागि दुई लाख ७५ हजार खर्च गर्ने जनाएको छ । जिल्ला खेलकुद बिकास समिति सँग अनुमती पनि लिईसकेको अध्यक्ष श्रेष्ठले बताए । ‘मेलाबाट बचेको रकम संस्थाको गतिविधीमा खर्च गर्ने योजनामा छौँ’ उनले भने । मेलामा स्टल दिँदा स्थानीय ब्यापारीलाई प्राथमिकतामा राखिने बताइएको छ ।

दर्ता नभएका ब्यवशायीलाई भने स्टल नदिने चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए ।
मेला अवधीमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती निरन्तर रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्