| बिहिबार, असार १०, २०८३

५० करोडमा गोरखामा रिसोर्ट

गोरखामा ५० करोड लगानीमा गोरखा गार्डेन रिसोर्ट बनेको छ । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो । गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल तयार गरेको प्रालीका अध्यक्ष ऋषिराम पौडेलले बताए ।


‘भरतपुर गार्डेन रिसोर्टको ६० प्रतिशत, गोरखा चितवनका अन्य केही ब्यवशायीको गरी ४० प्रतिशत लगानीमा रिसोर्ट तयार भएको छ’ अध्यक्ष पौडेलले भने ।

भरतपुरमा सफल भएका गार्डेन रिसोर्टका ब्यवशायीले गोरखामा होटल संचालन गर्ने योजना २०७२ सालदेखि बनाएका थिए । धार्मीक र ऐतिहासिक रुपमा प्रख्यात गोरखामा होटल बनाउँदा यहाँ आउने पर्यटकलाई सहज हुने उनले बताए । ‘विश्व इतिहासमा गोरखा चर्चित छ’ उनले भने ‘हामीले यहाँ राम्रो होटल बनाउन संचालन गर्न सकिन्छ भन्ने ठानेर सुरु गरेका हौँ ।’


गोरखा गार्डेन होटलमा ४६ वटा रुम छ । एक सय २५ जना सम्म होटलले सहज रुपमा राख्न सक्ने प्रालीका अध्यक्ष पौडेलले बताए । दुई स्विट रुम, १० वटा सुपर डिलक्स रुम र ३४ वटा डिलक्स रुम रहेको छ ।


होटलले बिदेशी पाहुनालाई केन्द्रित गर्ने रणनीति बनाएको छ । ‘चितवन, पोखरा, बन्दिपुर र उत्तरी गोरखा आउने पर्यटकलाई हामी होटल सम्म एक÷दुई रात ल्याउने योजना बनाएका छौँ’ अध्यक्ष पौडेलले भने । होटलले ४० प्रतिशत भने आन्तरिक पर्यटकलाई सेवा दिने लक्ष्य लिएको छ ।


२०७३ फागुनदेखि होटलले जग्गा खरिद प्रक्रिया सुरु गरि निर्माण थालेको थियो । ‘कोभिडका कारण हामीले छिटो काम गर्न सकेनौँ’ उनले भने ‘करिब १० करोड लागत डेढ वर्ष निर्माण ढिलो हुँदा थपियो ।’ कोभिड नभएको भए उक्त होटलको लागत घट्ने र यस अघि नै संचालनमा आउने उनले बताए ।


मंसिर १ गतेदेखि पाहुना राख्न सुरु गर्ने तयारी होटलको छ । औपचारिक सुभारम्भको मिति भने तय हुन बाँकी रहेको प्रालीले जनाएको छ । १५ रोपनी क्षेत्रफलमा रहेको होटलमा सुन्दर गार्डेन, आकर्षक कोठा, साना ठुला गरी चारवटा हलहरु रहेको छ । दुई सय जना अट्ने देखि साना मिटिङ हल पनि होटलमा छ । बिहे, पार्टीका लागि पनि उपयुक्त हुनेछ ।

गोरखा सदरमुकामको मध्येभागमा पर्ने भएकाले होटलबाट गोरखा बजार र दरौँदी फाँटको दृष्य पनि देख्न सकिन्छ ।
होटल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले आन्तरिक डेकोरेसनको काम भईरहेको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्