| बिहिबार, असार १०, २०८३

तीनपटक म्याद थप्दा पनि काम नसक्नेलाई फेरि गोरखा दरबारको ठेक्का

गोरखा दरबार पुन निर्माणको काम समयमै पूरा गर्न नसकेको कम्पनीले दरबारको बाँकी कामको जिम्मा पाएको छ ।

गोरखा दरबार ठडिएपनि त्यहाँ भित्रको काम पूरा गर्न बाँकी छ । ७३ लाख ३८ हजार रुपैयाँमा टेण्डर आह्वान गरिएकोमा २१.३३ प्रतिशत घटेर ५६ लाख १६ हजारमा शिवाको/यरिसा/रोयल जेभीले कामको जिम्मा पाएको राजन रेग्मीले बताए ।


पेटी निर्माण, रङगमहलमा पेटी, इट्टा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल ढोकामा खापा लगायतका काम बाँकी रहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । दरबारमा प्रयोग भएको सामग्री बिग्रन नदिन छानाको पानी कटाउने काम पनि रहेको उनले बताए ।


यसअघिको ठेक्कामा पनि जेभी रहेको शिवाको अहिलेको ठेक्कामा पनि सहयात्री छ । समयमै काम पूरा नगरेको सिवाकोले अहिले जिम्मा लिएको बाँकी काम पूरा गर्नेमा स्थानीयले आशंका गरेका छन् ।


२०७४ कात्तिकमा दुई वर्षभित्र दरबार निर्माण सक्ने गरी पुन निर्माणको जिम्मा पचली सिभाको जेभीले लिएको थियो । तर काम गर्न चार वर्ष समय लाग्यो । पुरातत्व बिभागले पटक–पटक ताकेता गर्दा पनि पचली शिवाको जेभीले काम गर्न सकेन ।

अधुरो काम गर्न नयाँ ठेक्का आह्वान गरिएको हो । नयाँ ठेक्कामा पनि पुरानै कम्पनीले दावी गरेपछि बिभागले काम समयमै सकिनेमा आशंका गरेको छ । सोही कारण बिभागले ठेक्का पाएको कम्पनीसँग बिस्तृत योजना, विश्लेषण मागेको स्रोतले जनाएको छ ।


अहिले पाएको दरबार पुन निर्माणको कामको ठेक्का २०७९ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । दरबारमा अहिले कालिका र रङ्गमहलको मर्मत पनि सुरु भएको छ । रेट्रोफिटिङ गरेर मर्मत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्