| बिहिबार, असार १०, २०८३

सामागाउँमा खचाखच मनास्लु आरोही

कोभिड १९ महामारीको जोखिम मलेर प्रसिद्ध मनास्लु हिमाल आरोहणका लागि आरोहीहरु धमाधम मनास्लु बेसक्याम्प पुगेका छन् । ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गर्न आएका पर्वतारोहीहरु सामागाउँमा खचाखच रहेको चुमनुब्री गाउँपालिका १ का वडा सदस्य मिङ्मार लामाले जानकारी दिए ।


‘कोही सामागाउँ आउँदै छन्, कोही सामागाउँबाट बेसक्याम्पका लागि जाँदैछन्’, लामाले भने, ‘अहिले सामागाउँको होटल आरोहीहरुले भरिभराउ भएको छ ।’


पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार अहिले(सेप्टेम्बर ३)सम्म १० ग्रुपका १०८ जना आरोहीले मनास्लु आरोहणका अनुमति लिएका छन् । ‘गत शुक्रबारसम्म विभागबाट मनास्लु आरोहणका लागि मात्र आरोहण अनुमति लगेका छन्’, उनले भने, ‘सेप्टेम्बर ३ सम्मको तथ्याङ्क अनुसार १० ग्रुपका १०८ आरोहीले आरोहण अनुमति लगेका छन् ।’ उनीहरुमध्य ८० जना पुरुष र १८ जना महिला रहेको उनले बताए ।


बिभागका अनुसार सो आरोहणवापत एक करोड चारलाख ३७ हजार ८७५ रुपैयाँ राजस्व शुल्क संकलन भएको छ ।
केही बर्षयता किलर माउण्टेन भनेर चिनिने मनास्लु आरोहणको लोकप्रियता बढिरहेको छ । गत बर्ष नेपालकै सबैभन्दा धेरै तीनसय जना आरोहीले मनास्लु आरोहणको अनुमति लिएका थिए ।


संसारको आठौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि अधिकांश आरोहीहरु हेलिकोप्टरबाट सामागाउँ पुगेका छन् । कोही मनाङ हुदै लार्केपास गरेर सामागाउँ आइपुगेका हुन् ।


शेर्पा, गाईड, कुक, भरिया लगायतका सहयोगी तथा आवश्यक सामान भने खच्चडबाट सामागाउँ पु¥याइएको छ । ‘यतिबेला मनास्लु ट्रेकिङ रुटमा दिनहूँ मनास्लु आरोहीहरुको सय भन्दा धेरै खच्चडको लर्कन देखिन्छ’, मनास्लु होटल व्यवस्थापन उपसमितिका अध्यक्ष गणेश कार्की भन्छन्, ‘यदि मनास्लु आरोहीहरु पनि पदमार्गकै बाटो आएका भए लामो समयदेखि सुनसान बनेको हामी जस्ता होटल व्यवसायीहरुले पनि राहतको महशुस गर्ने थिए ।’


मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घन्टाको पैदल दुरीमा रहेको छ । आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गरेका छन् । आरोहणका क्रममा आरोहीले आफु अनुकुल क्याम्प बनाएर बस्ने गर्दछन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

केहिबर्ष अघिसम्म मनास्लु आरोहण गर्नेमा जापानी नागरिक बढि रहेकोमा पछिल्लो समय चिनिया र युरोपियन राष्ट्रका नागरिकको संख्या बढि रहेको एमक्यापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्