
कोभिडको त्रासका बीच मनास्लुमा एक सय ९४ पर्यटक
गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच २०७७/०७८ मा एकसय ९४ जना पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत बैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।
२०७६/०७७ मा भने पाँच हजार तीन सय ८६ जना पर्यटकले मनास्लु भ्रमण गरेका थिए । २०५५ सालदेखि एमक्यापले मनास्लु क्षेत्रमा गएका पर्यटकको बिवरण राख्न सुरु गरेको थियो । पहिलो वर्ष एक सय चार जना पर्यटक मनास्लु पुगेका थिए । त्यसयता २३ वर्षपछि २०७८ मा एक सय ९४ जना मात्रै पर्यटक मनास्लु पुगेका हुन् ।
अन्य सबै वर्षमा यो भन्दा धेरै पर्यटक जाने गरेका छन् ।
२०७७ साउन, भदौ र २०७८ जेठ, असारमा एक जना पनि पर्यटक मनास्लु गएनन् । अन्य महिनामा भने दुई, तीन, आठदेखि ९४ जनासम्म मनास्लु पुगेका छन् ।
सार्क राष्ट्रका एकजना र बाँकी अन्य देशका छन् । एकसय २९ पुरुष र ६५ महिलाले गत वर्ष मनास्लु भ्रमण गरेका हुन् । मनास्लु भ्रमणका लागि पर्यटकले निश्चित शुल्क तिर्नुपर्छ ।
पोखराको अन्नपूर्ण पछिको पदमार्गको रुपमा मनास्लु पदमार्गलाई लिइन्छ । यूरोपियन मुलुकका पर्यटकहरु यहाँको भौगोलिक धरातल, हिमश्रृङ्खला, हेर्न र लार्केपासका लागि आउने गर्छन ।
ब्यक्तिगत भन्दा पनि ग्रुपमा टे«किङ आउने ठाउँको रुपमा मनास्लु पदमार्गलाई पर्यटकले लिन्छन् । फ्रान्स, जर्मन, अमेरीका, स्विजरल्याण्डका पर्यटक धेरै आउने गरेको आयोजनाले जनाएको छ । एमक्यापले बिदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरेको छ ।
मनास्लु क्षेत्रमा आन्तरिक पर्यटक पनि जान थालेका थिए । अहिले कोभिडको प्रभावकाले पर्यटक घटेको स्थानीय बताउँछन् । भुकम्पको दुई वर्षपछि उठ्न थालेको मनास्लु क्षेत्रको होटल ब्यवशाय कोरोनाले फेरी बन्द हुने अवस्थामा पुगेको गुनासो ब्यवशायीको छ ।
२०५५ देखि २०७८ सम्म मनास्लुमा आएका पर्यटकको बिवरण

स्रोत : एमक्याप गोरखा
करोडौँ लगानी टाट पल्टियो : होटल ब्यवशायी
मनास्लु पदमार्गमा गएका पर्यटक लक्षित गरी संचालन भएका होटल टाट पल्टिएको ब्यवशायले बताएका छन् । मनास्लु क्षेत्रका एक सय १० वटा भन्दा बढी होटल कोभिडका कारण एक वर्ष बन्द भएको मनास्लु क्षेत्र होटल ब्यवस्थापन समितिका अध्यक्ष गणेश कार्कीले बताए । ्
‘हाम्रो ब्यापार चौपट भयो, अवस्था नाजुक छ’ ५० लाख देखि १८ करोड सम्म लगानी भएका होटल मनास्लुमा छ उनले भने ‘तर आम्दानी सून्य छ ।’ कतिपयले होटल बन्द गरेको उनले बताए । वर्षमा सात÷आठ सय पर्यटक राख्ने उनले २०७७÷७८ मा एक जना पनि पर्यटक राख्न पाएनन् । ‘ऋण काडेर ब्यवशाय गर्नेहरुलाई सास्ती भएको छ’ उनले भने ‘नाफा त भएन नै घाटा लागेको छ, ऋण तिर्न सकेका छैनन् ।’
मनास्लु क्षेत्रका होटलको मूख्य प्राथमिकता नै पर्यटक हुन् । राज्यले समस्यामा परेका ब्यवशायीलाई लक्षित गरेर कुनै स्किम नल्याएको भन्दै उनले दुखेसो गरे ।
कोभिडको असरले पर्यटक आएनन : एमक्याप
मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले कोभिडको प्रभावका कारण पर्यटक कम आएको जनाएको छ । पहिलो लहर कम भएसँगै आउन थालेका पर्यटक कोरोनाको दोस्रो लहरपछि आउने क्रम घटेको एमक्याप गोरखाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।
कोरोना नेपालमा मात्र नभएर पर्यटक आउने देशमा पनि फैलिएकाले पर्यटक घटेको उनले बताए । नेपाल आएका पर्यटक क्वारेन्टिन बस्नुपर्ने, कोरोना चेकजाँच गर्नुपर्ने र गन्तब्य तर्फ जान पाउने गरी पहिलो लहरको अन्यतिर सरकारले खुल्ला गरेको थियो । त्यतीबेला फाट्टफुट्ट पर्यटक आउन सुरु गरेका थिए । अहिले भने आउने क्रम ठप्प रहेको उनले बताए ।




