| आइतवार, कार्तिक २२, २०८३

‘हिल डिस्टिनेशन’को प्रचुर सम्भावनामा धार्चे

बारपाक, लाप्राकबाट जङ्गलै जङ्गल तीनघण्टा दक्षिणी हाइकिङपछि एउटा विशाल भिरालो चहुरमा पुगिन्छ । स्थानीयहरु सम्पेखर्क भन्छन् त्यसलाई । धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ यसलाई ‘मिनीखप्तड’ भन्न रुचाउँछन्।

त्यहाँबाट लगालग आधाघण्टा उकालो चढेपछि अर्को ठूलो चहुरमा पुगिन्छ । त्यहाँ पुगेपछि हिमाल हेर्न मात्र आँखा उठाउनु पर्छ । बाँकी सबै पहाडहरु हेर्न शीर झुकाउनै पर्छ ।
बारपाक सुलीकोट, धार्चे र आरुघाट तीनवटै गाउँपालिकाको सीमाना मिसिएको त्यो पहाडको नाम हो धार्चे । यही पहाडलाई ‘शीरशोभा’ मानेर स्थानीयले आफ्नो गाउँपालिकाको ‘धार्चे’ नामाकरण गरेका छन् ।

कोभिडका कारण पर्यटन क्षेत्र धरासायी भइरहेको छ । आन्तरिकबाहेक बाह्य पर्यटक ठप्पप्राय छ । जब विश्वले कोरोनाबाट पार पाउँछ, तव जुर्मुराउने तयारीमा छ यो धार्चेडाँडा ।
धार्चेडाँडाको फराकिलो चहुर समुद्र सतहबाट ३२२० मिटर उचाइमा छ ।
धार्चेडाँडालाई ‘हिल डिस्टिनेशन’को रुपमा विकास गर्न यी तीनवटै गाउँपालिका संयुक्त पहलमा जुटेका छन् ।

धार्चे गाउँपालिकाले हिन्दू धर्मावलम्बीहरुको केही संरचना निर्माण गर्न सुरु गरेको छ । अब वुद्ध, वोन्पो र क्रिश्चियन धर्मावलम्बीहरुको अपनत्व हुने गरी आस्थाको केन्द्र बनाउने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको भनाइ छ ।
‘धार्चेडाँडा हामी तीनवटै पालिकाको शीरशोभा हो’, अध्यक्ष गुरुङ भन्छन्, ‘हिन्दू, वुद्ध र वोन्पो धर्मावलम्वीको त यो पहिल्यैदेखि आस्थाको केन्द्र हो । अब क्रिश्चियनहरुलाई पनि अपनत्व जगाउन केही संरचना बनाउन सकिन्छ ।’

धार्चेडाँडाबाट गणेश हिमाल, मनास्लु हिमाल, लाङटाङ, अन्नपूर्ण हिमाल तथा तिनका श्रृङ्खलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । सदियौँअघि ऋषिमुनिले तप गरेको हुँदा यहाँ एउटा मन्दिर निर्माण गरिएको छ । पुरानो मन्दिर भूकम्पले तहसनहस भएपछि नेपाल पर्यटन बोर्डले मन्दिरको पुनर्निर्माण सम्पन्न गरिसकेको छ । पर्यटकलाई लोभ्याउन धार्चे गाउँपालिकाले ओम र त्रिशुल निर्माण गरेको छ । यसको विकास गरी पर्यटन प्रवद्र्धन गर्न धार्चे मनास्लु पर्यटन विकास समिति लागि परेको छ । ‘मनास्लु क्षेत्रमा पर्यटक खचाखच हुन थालेका छन् । अव मनास्लु जाने पर्यटकलाई तल्लो मनास्लुको धार्चे हुदै अपर मनास्लु जानका लागि टूेल बनाउनु पर्छ ।’ भूकम्पको केन्द्रविन्दू यसैआसपास भएकाले यहाँ पर्यटन बोर्डले इपिसेण्टर टे«किङ टे«ल भर्खरैनिर्माण सम्पन्न भएको उनले बताए ।

धार्चे स्वयं सुन्दर छ, यसलाई झन सुन्दरता थप्न प्रकृतिले गुराँसवाग बनाइदिएको छ । शिखरभन्दा तल वरिपरि रातो, गुलावी र सेतो गुराँसैगुराँसको जङ्गल छ । गुराँस फुल्ने मौसमा परबाट हेर्दा डाँडै रातो देखिन्छ ।
बारपाक र लाप्राकको साँधमा रहेको गुप्सीडाँडादेखि धार्चेडाँडा सम्म पुग्न इपिसेण्टर ट्रेकिङ ट्रेल निर्माण भइसकेको छ । मिनिखप्तड भनेर चिनिने सम्पेखर्कमा सामुदायिक भवन निर्माण भइसकेको छ । यहाँ क्याम्पिङ साइट पनि रहेको गुरुङले बताए ।

निर्माण गर्नुपर्ने पर्यटन व्यवसायी लाक्पाडुण्डुप लामाको सुझाव छ । ठाउँठाउँमा टिहाउस, रेष्टुरेण्ट तथा होटल सञ्चालन भएमा यस ठाउँले पर्यटन विकासमा ठूलो फड्को मार्ने नुब्री साँस्कृति युवा उत्थान समितिका अध्यक्ष लामा बताउँछन् ।

बिगतमा भन्दा अहिले धार्चेडाँडामा पर्यटकको आवागमन बढ्न थालेको छ । यहाँ धार्चेको लाप्राक, गुम्दा, यमगाउँ, लप्सीबोट, माछाखोला, लापु, खानीगाउँदेखि मान्छेहरु आउँछन् । त्यस्तै बारपाक सुलीकोटको बारपाक, पोखरी, कुलगाउँ, रञ्चोक, बन्चोक, भण्डारीगाउँ, शिम्भू, नालपाङ, स्याङलाचे, सौरपानी, स्वाँरा, ठोट्नेरी, खारचोक, हुँडीखोलालगायतका गाउँबस्तीदेखि आन्तरिक पर्यटक आउने गरेका छन् । त्यस्तै आरुघाट गाउँपालिका को आरुघाट, आर्खेत, थुमी, स्वाँरादेखि पर्यटक आउने गर्छन् ।

अव यसको प्रचारप्रसार गरी नेपालकै विभिन्न सहर र वाह्य पर्यटकलाई पनि आकर्षण गर्नुपर्ने स्थानीय सलिना गुरुङ बताउँछिन् । बाटोको विभिन्न ठाउँमा खानेपानीको व्यवस्था हुनु जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्