
लक्ष्मीबजारमा गोरखक्षनाथ शक्तिकेन्द्र पिठ निर्माण हुने
गोरखामा गोरखक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठ निर्माण हुने भएको छ । गोरक्षनाथ प्रकटस्थल भएकाले गोरखा नगरपालिका वडा नं. ९ आहाले(कैलाशडाँडा)मा शक्तिकेन्द्र पिठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम व्यवस्थापन समितिका संयोजक होमसिँह बस्नेतले जानकारी दिए ।
पिठको आउँदो आइतबार(१५ गते) बिहान १०ः३५ बजेको साइतमा सिलान्यास गर्ने कार्यक्रम रहेको बस्नेतले बताए ।
५४० रोपनी क्षेत्रफल जग्गा रहेका सो स्थानमा गोरक्षनाथको ५४ मिटर अग्लो शिखर शैलीको मन्दिर निर्माण गर्न लागिएको उनले बताए ।
‘देशका विभिन्न पाँच ठाउँमा विभिन्न पिठ निर्माण गर्ने अभियान सुरु भएको छ । त्यसमध्य गोरखामा राजविद्या शक्तिपिठ निर्माण हुदैछ’, अर्का साधक बलराम रेग्मीले भने, ‘करिब डेढ करोडको लागतमा निर्माण हुने मन्दिरमा जागृत अबस्थाको मूर्ति प्रतिस्थापन गरिन्छ ।’
मन्दिर निर्माणका लागि इन्द्रबहादुर रानाको संयोजकत्वमा निर्माण समिति गठन भएको छ ।
समितिले हाल डेढ करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गर्ने र भविष्यमा छ करोड रुपैयाँ लगानी गरी तन्त्र साधना केन्द्र, जप तथा भजनगृह, गुरुकुल निर्माण गर्ने लक्ष्य राखेको छ ।




