
पर्वतारोही तुलसिंङ गुरुङ धार्चेको पर्वतारोहण सद्भावना दूत
गोरखाको धार्चे गाउँपालिकाले पर्वतारोही तुलसिङ गुरुङलाई पर्वतारोहण सद्भावना दुत नियुक्त गरेको छ ।
शुक्रवारको गाउँ कार्यपालिका बैठकले गुरुङलाई सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष सन्तोष गुरुङले बताए । कार्यपालिका बैठकले लाप्राकमा निर्माण गरिने जिप लाइन परियोजन सहकारीको मोडलमा निर्माण गर्ने निर्णय गरेको छ ।
स्थानीयकै लगानीमा उक्त परियोजना निर्माण गर्दा दिगो हुने विश्वास गाउँपालिकाले लिएको छ । त्यसका लागि सहयोग र सहकार्य भने गरिने अध्यक्ष गुरुङले बताए । धार्चे गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुमा आईसिटी ल्याब संचालन गर्न अहिलेको अवस्था र सम्भाब्यता अध्ययन हुने भएको छ । धार्चे गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई आन्तरिक भ्रमण बिदा दिने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा हाटबजार तथा कोशेली घर सञ्चालनमा ल्याउने अध्यक्ष गुरुङले बताए । ‘स्थानीय उत्पादनलाई ढुवानीका लागि गाउँपालिकाले सडकबाटो पुगेको ठाउँसम्म ढुवानी अनुदान दिने र जनतालाई कृषिमा प्रेरित गर्ने योजना छ’ उनले भने ।




