
गुप्सीपाखाको बस्ती बैशाख १२ गते हस्तान्तरण गर्ने
गुप्सीपाखामा निर्माण भएको एकीकृत बस्ती बैशाख १२ गते राष्ट्रपतिको हातबाट हस्तान्तरण गरिने भएको छ । गोरखा भूकम्पको दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सो बस्ती हस्तान्तरण गर्ने मंगलबार सम्पन्न गाउँपालिका, वडा कार्यालय, गैरआवासीय नेपाली संघ(एनआरएनए) र स्थानीय बासीको संयुक्त भेलाले निणर्य गरेको हो ।
गुनासो संवोधनको क्रममा लाभग्राही सूचीमा नाम परेकाहरुको घर पनि बैशाख १२ गते अगावै निर्माण सम्पन्न गरिसक्ने निणर्य भेलाले गरेको छ । जसका लागि अबको १५ दिनभित्र सबै घर निर्माणको काम सुरु गर्ने अन्यथा लाभग्राही सूचीबाट हट्न स्वघोषणा गर्ने निणर्य गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
निर्माण सम्पन्न भएका केही घरमा अहिलेसम्म पनि सौचालय नबनेकाले सौचालय निर्माण गरिसक्ने पनि भेलाले निणर्य गरेको छ । सौचालय निर्माण सम्पन्न भएपछि पूर्व समझदारी बमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती विकास परियोजना अन्तर्गतका पूर्वाधार निर्माणको काम सुरु गर्ने निणर्य भएको अध्यक्ष गुरुङले बताए ।
सो योजना अन्तर्गत गुप्सीको एकीकृत बस्तीमा विजुलीबत्ती, खानेपानी, ढल, बाटोलगायतका पूर्वाधार निर्माण गरिने उनले बताए ।
साथै बैठकले एकीकृत बस्तीमा निर्माण भएका घरहरुको लालपूर्जा सम्बन्धित घरधनीलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने पनि निणर्य गरेको छ । यसअघि नापी बिभागले घरहरुको कित्ताकाट गरिसकेको छ । लालपूर्जा बनाउँदा घरधनी महिलाको नाममा बनाउने उनले बताए । संयुक्त भेलामा गाउँपालिकाका अध्यक्ष गुरुङ, वडा नं. ४ का अध्यक्ष राज गुरुङ, गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामा, उपसंयोजक श्याम तामाङ, सिइओ राजेश राणालगायत सहभागी थिए ।




