| आइतवार, कार्तिक २२, २०८३

धार्चेमा प्रथम साहसिक खेलकुद तथा पर्यटन मेला जारी

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि सुरु भएको प्रथम पर्यटन महोत्सव जारी छ । धार्चे पर्यटन प्रर्वद्धन समितिको आयोजनामा सञ्चालित मेलाको आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहालले उद्घाटन गरेका हुन् ।
मेलाको अवसरमा खोर्लाबेशीदेखि माछाखोलासम्म राफ्टिङ संचालन भइरहेको समितिका संयोजक मणिलाल गुरुङले जानकारी दिए । उनका अनुसार खोर्लाबेशीको नाम्रुङ खोलामा जीपलाइन सञ्चालन गरिएको छ ।
त्यस्तै वडा नम्बर ७ को नौलीखोलामा २० र १० मिटर गरी दुई खण्डमा क्यानोनिङ संचालन भएको छ । मणिकामदेवी माविका पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुले नौलीखोला भन्दा पारि काशिगाउँको फेदीमा रक क्लाइम्बिङ गरेका संयोजक गुरुङले जानकारी दिए ।
‘साहसिक खेलका लागि पनि धार्चेमा सम्भावना छ भन्ने पहिचान गराउन बिभिन्न गतिविधि सहित पर्यटन महोत्सव गर्न लागिएको हो’ कार्यक्रम संयोजक गुरुङले भने ।
मेलाको उद्घाटन सत्रमा प्रमुख अतिथि दाहाल, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, उपप्रमुख फूलमाया गुरुङ, गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्के, नेपाल पर्वतारोहण संघका सचिवालय सदस्य दीपेन्द्र पाण्डे लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
मेलाले धार्चे गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्न सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । धार्चे गाउँपालिकाको उक्त क्षेत्र मनास्लु पर्यटन पदमार्गभित्र पर्ने भएकाले त्यहाँ जाने बिदेशी पर्यटकले पनि क्यानोनिङ, रक क्लाइम्बिङ, ¥याफ्टिङको मज्जा लिन पाउने हुँदा स्थानीयले ब्यवसायिक रुपमा संचालन सक्ने अध्यक्ष गुरुङको भनाइ छ ।
धार्चे गाउँपालिकामा पर्वतारोहण तालिम लिएका ८० जना, माउण्टेन गाईड ४ जना, सगरमाथा आरोही ८ जना, पर्वतारोहण सम्बन्धि प्रशिक्षक ४ जना छन् । पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति धेरै भएकाले उनीहरुको सहयोगबाट गाउँपालिका भित्र पनि गतिविधि तिब्र बनाउन सकिने गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङले बताईन् । महोत्सवले धार्चे गाउँपालिकाको पर्यटकीय गन्तब्यको थप प्रचार हुने अपेक्षा गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्