| आइतवार, कार्तिक २२, २०८३

जहाँ १८ बर्षसम्म भारतीय सेनाले अड्डा जमायो

शिव उप्रेती :
भारतीय सेनाको डफ्फा बोकेको दुइटा विमान २००८ साल फागुन १५ गते काठमाडौंको विमानस्थल उत्रियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले उनीहरु आउने चाँजोपाँजो मिलाएका थिए ।
दुई सय ५० जनाको डफ्फाको नेतृत्व मेजर जनरल वाइएस पारान्जपेले गरेका थिए ।


नेपाली सेनालाई एकबर्षभित्र तालिमप्राप्त, दक्ष र व्यवस्थित गराउने बहानामा भित्र्याइएको भारतीय सैनिकको सो टोलीलाई ‘इन्डियन मिलिटरी मिसन’ नामाकरण गरिएको थियो ।
सरकारले भारतीय सेना आउने बारे २००८, फागुन ९ गते सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको थियो । सो सूचनामा भनिएको थियो, ‘२० जना भारतीय अफिसर स्टाफसहितको सैनिक मिसन आउने भएको छ ।

एक वर्षभन्दा कम समयमा फिर्ता जाने सहमति पनि भएको छ ।’
नेपाली सेनालाई थप व्यवस्थित बनाउन आवश्यक देखिएको भन्दै भारत सरकारले सैनिक मिसन टोलीलाई रहने अवधि लम्ब्याउँदै लग्यो । यसमा तत्कालीन नेपाल सरकारले कुनै अबरोध गरेन । यसरी नेपालमा भारतीय फौजको बसाइ लम्बिदै गयो ।
थपिएको अवधिमा बस्ने भारतीय सैन्य मिसन टोलीको नाम पनि परिवर्तन हुन थाल्यो । मिलिटरी संरचना र संख्या पनि बदलिँदै गयो । सुरुमा ‘इन्डियन मिलिटरी मिसन’ भनेर आएका थिए, तर पछि ‘इन्डियन मिलिटरी ट्रेनिङ एन्ड एड्भाइजरी ग्रुप’ भनियो । त्यसपछि फेरि नाम संशोधन भरी ‘इन्डियन मिलिट्री लियाजन ग्रुप’ राखियो ।
यसबीचमा भारतीय सेनाले कुटनीतिक मर्यादा विपरीत नेपालको उत्तरी चिनियाँ सिमानामा धमाधम सैन्यपोस्ट स्थापना गर्न थाल्यो ।

यही क्रममा नेपालका उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित भारतीय सेनाका १७ पोस्ट स्थापना भए । तीनै १७ मध्य गोरखाको लार्केभञ्ज्याङ र अठारसयखोलामा दुई वटा भारतीय सैन्य क्याम्प स्थापना भएका थिए । तीबाहेक ताप्लेजुङको ओलाङचुङगोला, पाँचथरको च्याङथापु, संखुवासभाको चेपुवाघाँटी, सोलुखुम्बुको नाम्चे (च्याक्सा), दोलखाको लामाबगर, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र सोम्दाङ, मनाङको थोराङ पास, मुस्ताङको छुसाङ, डोल्पाको छार्काभोट, मुगुको गुगुगाउँ, हुम्लाको मुचु, बझाङको जावारीकोट, दार्चुलाको टिंकर भञ्ज्याङमा यही बेला भारतीय पोस्ट थिए ।

२०१७ सालमा स्थापना भएको पञ्चायती व्यवस्था १० बर्षे पठ्ठो भइसकेको थियो, त्यसैले राजा महेन्द्र पनि भारतसंग जोखिम लिन सक्ने अवस्थामा थिए । यही बलमा २०२६ मा प्रधानमन्त्री कीर्तिनिधि विष्टले भारतीय सैनिक मिसन फिर्ता गराउन पहल थाले । परराष्ट्रसचिव यदुनाथ खनाल पनि विदेशी सेना पठाउनुपर्छ भन्नेमा स्पष्ट थिए । उनकै योजनामा २०२६ साल असार ११ गतेको द राइजिङ नेपालमा प्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्तर्वार्ता छापियो । त्यसमा भारतीय सैन्य शिविर हटाउनु पर्छ भन्ने थिम थियो ।

सो अन्तर्वार्तापछि राष्टिूय पञ्चायतमा यो विषयमा घनिभूत बहस सुरु भयो । १० साउन ०२६ मा नेपालको राष्ट्रिय पञ्चायतले भारतीय मिलिट्री लियाजन ग्रुप फिर्ता गर्नुपर्ने प्रस्ताव पारित भयो । भारत पनि वार्ताका लागि तयार भयो । सो विषयमा वार्ता गर्न नेपाल सरकारले परराष्ट्रसचिव खनालको नेतृत्वमा प्रतिनिधिमण्डल दिल्ली पठायो । १३ देखि १९ भदौसम्म दिल्लीमा भएको वार्तापछि सैनिक फिर्ता गर्न भारत सहमत भयो ।
भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली भूमिमा १७ पोस्टमा तैनाथ भएका भारतीय सैनिक १८ वर्षपछि मात्र फर्किए, तर ०१९ सालमा कालापानी आएको सेना अहिलेसम्म फर्किएको छैन । यही क्रममा स्थापना भएको थियो, गोरखाको हालको चुमनुब्री गाउँपालिका वडा नं. १ को लार्केभञ्ज्याङ र वडा नं. ३ उङ्वेमा भारतीय क्याम्प ।

२०२६ मा भारतीय सैनिकले शिविर छाडेपछि २०३० सालमा वुद्ध प्राविधको रुपमा त्यहाँ विद्यालय स्थापना भएको थियो । २०६३ सालमा वुद्ध प्रावि स्तरोन्नति भएर वुद्ध मावि बन्यो र फिलिममा स्थानान्तरण भयो । अहिले सो जीणर् टहरो झाडीभित्र बेपर्वाह अलपत्र छ ।स्थानीय बलबहादुर कार्कीका अनुसार त्यहाँ २००८ सालदेखि २०२६ सालसम्म भारतीय सेना बसेका थिए । ‘सबै गाउँले मिलेर यहाँ ठूलो ब्यारेक घर बनाएका थिए । गाउँलेले श्रमदान गरेर पनि ब्यारेक घर बनाउँदा १५ हजार रुपैयाँ खर्च भएको थियो’, उनले भने, ‘त्यहाँ पाँच जना भारतीय सेना बस्थे । उनीहरुलाई हामी बडेसाप् भन्थ्यौँ । उनीहरु वाकीट्वाकी सेटमा सिधै नयाँ दिल्लीमा सम्पर्क गर्थे ।

हिन्दीमा खै के के बोल्थे ।’ भारतीय सेनासँग नेपालको महिन्द्र दलका छ जना सेना पनि बस्ने उनले बताए ।
सिर्दिबास क्याम्पमा बस्ने भारतीय सेना बेलाबेला सीमा क्षेत्रतिर गस्तीमा जाने र जासुसी गर्ने कार्की बताउँछन् । ‘बेलाबेला निस्केर नाम्रुङसम्म गस्ती जान्थे । खम्पासित भेटघाट गर्थे, चिनियाँ सरकारको जासुसी गर्थे भन्ने सुन्थ्यौँ तर आफ्नो आँखाले देखिएन’, उनले भने । भारतीय सेना बस्ने ढुङ्गा माटोले बनेको र फलेकले छाएको घर धेरै आकर्षक थियो । बेलाबेला आफूहरु पनि त्यहाँ जाने गरेको तत्कालीन जगत प्रहरी चौकीमा कार्यरत नारायणभक्त अर्याल बताउँछन् । ‘फलेकले छाएको, ठूल्ठूला कोठा भएको घर थियो ।

स्रोत साधनले सम्पन्न थियो’, अर्याल भन्छन्, ‘कहिलेकहीँ हामी पनि त्यहाँ जान्थ्यौँ । चिया खान्थ्यौँ । नेपाली सेनाको भने कोही पनि देखेनौँ ।’ सहयोगीहरु भने नेपाली नै रहेको उनले बताए । ‘नाम्रुङतिर गस्ती जाँदा पनि नेपाली सहयोगी लिएर जान्थे’, उनले भने, ‘उनीहरुले के के गर्थे भन्ने बारेमा बुझ्नुपर्ने हाम्रो ड्युटी थिएन । बुझ्नुपर्ने ड्युटि भएको भए बुझिन्थ्यो ।’ आफू बसुञ्जेल भारतीय सेनासँग सम्बन्धित सम्झन लायक कुनै घटना नभएको उनले बताए ।
तर स्थानीय गंगबहादुर गुरुङको भने फरक अभिमत छ ।

भारतीय सेना बसेकाले सो ठाउँमा स्थानीय छोरीचेली हिडडुल गर्न डराउने गुरुङ बताउँछन् । ‘घाँसदाउरा गर्ने, घट्टामा जाने छोरीचेलीहरु डराएर अर्को बाटो हिड्थे’, उनी भन्छन्, ‘दलाई लामालाई खोज्दै चिनियाँ सेना आउला कि भनेर उनीहरु दलाइ लामाको सुरक्षा गर्न यहाँ बसेका हुन् भन्ने सुनिन्थ्यो । दलाई लामाको सेना(खम्पा)लाई सहयोग गर्न आएका हुन् भन्ने पनि सुनिन्थ्यो । तर खासमा किन बसेका हुन् भन्ने चाहिँ थाहा थिएन ।’ उनीहरुको क्याम्प २०२६ सालमा उठ्यो । त्यसपछि त्यहाँ वुद्ध प्रावि स्कूल खुल्यो ।

प्रतिक्रिया दिनुहोस्