| सोमवार, कार्तिक २३, २०८३

३६ प्रतिशत व्याजमा ऋण लिएका व्यवसायीको बिचल्ली

मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।


३६ प्रतिशतसम्म व्याजमा ऋण लिएर व्यवसाय सुरु गरेका तथा क्षमता वृद्धि गरेका व्यवसायीहरु कोरोनाका कारण एकबर्षदेखि होटल बन्द हुँदा अहिले बिचल्लीमा परेका छन् । एकबर्षदेखि व्यवसाय ठप्प हुँदा ‘रुनु न हाँस्नु’को अवस्थामा पुगेको जगतका होटल व्यवसायी गणेश कार्कीको गुनासो छ ।

‘पर्यटकलाई आवश्यक सेवा दिन नसकेपछि जति व्याज तिर्नु परेपनि तिरुँला भनेर हिम्मत गरेर ऋण खोजेर होटलको क्षमता बढाएँ’, उनले भने, ‘तर अघिल्लो बर्ष डेँगुको समस्याले गर्दा पर्यटक कम आए । यसबर्ष त झन् के कुरा गरुँ, कोरोनाले व्यापार विजनेश खाइदिहाल्यो ।’

३६ प्रतिशत व्याज तिर्ने शर्तमा साहुसँग ऋण लिएको उनले बताए । ‘सयकडा तीन रुपैयाँमा ऋण लिएको थिएँ । एकलाख ६० हजार रुपैयाँ ऋण लिएको थिएँ । दुईलाख ४० हजार त व्याज मात्रै तिरिसकेँ । सावाँ अझै घटाउन सकेको छैन’, उनी भन्छन्, ‘व्यवसाय नचलेको देखेर पनि साहुले सावाँ, व्याज माग्न छोड्दैनन् । आज पनि चाहियो भन्छ, भोलि पनि चाहियो भन्छ । नतिरौँ भने व्याजको स्याज दोब्बर, तेब्बर बढ्दै जान्छ । साह्रै समस्या भएको छ ।’ आफ्नो मात्र नभै मनास्लु क्षेत्रका प्राय होटल व्यवसायीको साझा समस्या रहेको उनले बताए ।

३६ प्रतिशत व्याजमा ऋण लिएर नतिरेको बारे धमाधम उजुरीहरु आइरहेको चुमनुब्री गाउँपालिका ३ का वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘पर्यटक ह्वात्तै आउन थाले । राख्ने ठाउँ भएन । अनि व्याज जति तिर्नु परेपनि तिरौँला भनेर साहुसँग ऋण लिएर होटल थपे । अहिले होटल सबै बन्द भए । ऋण तिर्न सकेनन् अनि पैसा तिरेनन् भनेर साहुको धमाधम उजुरी आउन थालेको छ’, गुरुङले भने, ‘व्याज पछि सकेका बेला तिरौला । अहिले सावा मात्र भनेपनि तिर भनेर मेलमिलाप गरेर पठाएको छु ।’


पर्यटकीय क्षेत्रमा होटल सञ्चालन गर्न चाहनेलाई वैँकले लगानी नगरेका कारण व्यवसायीहरु साहुसँग चर्को व्याजमा ऋण लिन बाध्य भएको व्यवसायी गणेश कार्कीले सुनाए । ‘यदि सहर बजारमा झैँ हाम्रो क्षेत्रमा पनि वैँकले कर्जा लगानी गरेको भए यहाँका व्यवसायीलाई धेरै सुविधा हुन्थ्यो’, उनी भन्छन्, ‘चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा एउटा कुमारी वैँक त छ, तर त्यसले काउण्टर खोलेर बसेको मात्र हो, केही सेवा दिदैन ।’ लगानीकर्तालाई सरकारको साथ नभएको उनले गुनासो गरे ।

सो वैँकले गाउँपालिकाको कारोवार पनि नगर्ने स्थानीयबासीको गुनासो छ । वैँकले गाउँपालिकाको कारोबार नगर्दा उपभोक्ता समितिहरु आर्थिक बर्षको अन्त्यमा सातदिनसम्म पैदल हिडेर सदरमुकाम गोरखा बजार जान बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्