| सोमवार, कार्तिक २३, २०८३

पृथ्वीजयन्तीको अबसरमा सेनाले गोरखा–काठमाण्डौँ एकीकरण ट्रेलमा पदयात्रा गर्ने

नेपाली सेनाले गोरखादेखि काठमाण्डौँसम्म पृथ्वीनारायण शाह हिडेको बाटोमा पदयात्रा गर्ने भएको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस २१ गतेदेखि २७ गतेसम्म ‘गोरखा काठमाण्डौँ एकीकरण मार्ग पदयात्रा २०७७’ गर्न लागेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए ।


गोरखाबाट हिँडेको पहिलो दिन सेना गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ गाउँ हुदै बोर्लाङघाट(घाटबेसी) सम्म पुगेर बास बस्नेछ । यात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरु श्रीनाथ कालिबक्स, पुरानो गोरख, बर्दबाणी र सवुज को झण्डा, राष्ट्रिय झण्डा तथा टर्च सहित सेना सहभागी हुनेछन ।
बाटोमा पर्ने इलाकामा झाँकी प्रदर्शनसहितको कार्यक्रम, बोर्लाङघाट इलाकामा स्वागत कार्यक्रमसँगै टर्च र झण्डा हस्तान्तरण कार्यक्रम हुने गणपति केसीले बताए । उक्त कार्यक्रममा गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको पनि सहयोग र समन्वय रहने बताइएको छ ।
पृथ्वीनारायण शाहकालीन पोशाकमा ब्याड र नौमती बाजा सहित सैनिक टोली यात्रामा सहभागी हुनेछ ।

गोरखबाट हिँडेको टोलीले धादिङको सल्यान्टारमा त्यहाँको सेनाको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ । धादिङको टोलीले नुवाकोटको गणको टोलीलाई हस्तान्तरण गरेपछि सोही टोली काठमाण्डौँको हनुमानढोका दरबार पुग्नेछ ।
इतिहासको संरक्षण र प्रर्वद्धन गर्ने नेपाली सेनाको योजना अनुसार तत्कालिन सेनाले प्रयोग गरेका मार्गहरुको पहिचान गर्न पदयात्रा गत वर्षदेखि सुरु गरिएको थियो ।

कोट, किल्ला, गढीहरुको इतिहास सेनासँग जोडिएकाले प्रधानसेनापतिको मार्गनिर्देशन अनुसार कार्यक्रम तय भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्