
नौ महिनापछि केबलकार सुचारु एकैदिनमा एक हजारले चढे
गत चैत ८ गतेदेखि बन्द गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना केबलकार नौ महिनापछि सुचारु भएको छ । सुचारु भएको दिन आईतवार एक हजार जनाले केबलका चढेको स्टेशन म्यानेजर उज्वल शेरचनले बताए ।
‘पहिले जस्तो भिड थिएन, हामीले स्वास्थ्य सुरक्षामा ध्यान दिँदै मास्क अनिवार्य गराएका छौँ’ उनले भने ‘यात्रुलाई गेट देखि बिभिन्न ठाउँमा साबुन पानी, सेनिटाईजर र मुख्य गेटमा थर्मल गनले स्क्रिनिङ गरेर चढाएका छौँ ।’ मन्दिर खुलेसँगै मनकामना गएका भक्तजनलाई पुजाआजा गर्न दुरी कायम हुने गरी गोलघेरा बनाइएको छ । हात धुने ठाउँको ब्यवस्था छ ।
बिहान ९ देखि बेलुकी ५ बजे सम्म केबलकार संचालन गरिएको थियो । ‘बिगतमा दैनिक हजारौँ भक्तजन हुन्थे’ स्टेशन म्यानेजर शेरचनले भने ‘आईतवार निकै कम हो ।’‘केबलकारलाई पुरानै अवस्थामा फर्कन अझै धेरै समय लाग्न सक्छ’ उनले भने ‘वार्षिक आउने भक्तजन मध्ये दुई लाख भारतिय हुन्थे ।’ कोरोना भाईरहेको बढ्दो संक्रमण सँगै छिमेकी देश भारतबाट तत्काल भक्तजन पहिले जसरी आउने संभावना छैन । देश भित्रका भक्तजन पनि भिडभाड गरेर आउजाउ गर्ने अवस्था तत्काल रहँदैन ।
सरकारले मठ मन्दिर, धार्मीक स्थलहरु खोल्न अनुमती दिएकाले मन्दिर दर्शन गर्न आउने संख्या बिस्तारै बढ्ने अनुमान मनकामनाका स्थानीयको छ । गत वर्ष १० लाख भक्तजनले केबलकार भएर मनकामना मन्दिर सम्मको यात्रा गरेका थिए । केबलकारले मात्रै ५५ देखि ६० करोडको कारोवार गर्यो । कोरोना भाईरसको त्रासपछि दुई सय ६७ दिन यता मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकारमा यात्रु भएनन् । आम्दानी पनि सुन्य रह्यो ।
केबुलकार बन्द हुँदा मनकामना दर्शन प्रालीलाई मात्र होईन त्यस क्षेत्रका स्थानीयको ब्यापार ब्यवशाय पनि चौपट भएको छ । चितवनको कुरिनटार देखि मनकामना मन्दिर आसपासका ब्यापार ब्यवशाय चलेको थिएन । केबलकार र मनकामना मन्दिर खुलेसँगै स्थानीयको ब्यापार ब्यवशाय पनि खुल्न थालेको उद्योग बाणिज्य संघ मनकामना बजार ईकाईका अध्यक्ष हरि श्रेष्ठले बताए ।
ईकाईका अनुसार ६० भन्दाबढि होटल र अन्य गरी एक सय ५० भन्दाबढि ब्यवशायी कोरोनापछिको लकडाउनले प्रत्यक्ष मारमा परेका थिए । मनकामना बजार क्षेत्रको ब्यवशाय मन्दिर आउने भक्तजन लक्षित हो । केबलकार बन्द हुँदा स्थानीयलाई आउजाउ गर्न समेत सास्ती भएको थियो ।




