
इपिसेण्टर विवादका कारण बारपाकीद्वारा धार्चे प्रवेश गर्ने नाका बन्द
गोरखा : इपिसेण्टरलगायतका विषयमा विवाद बढ्दै गएपछि बारपाकका बासिन्दाले धार्चे प्रवेश गर्ने नाका बन्द गरेका छन् । बारपाकबाट धार्चे प्रवेश गर्ने मुख्य सडकमा बिहिबार सूचना लेखेर अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
‘धार्चे गाउँपालिकाले बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ र २ सँग इपिसेण्टर सम्बन्धमा, पर्यटन पदमार्ग सम्बन्धमा र सामुदायिक वन क्षेत्रभित्र ढुंगामुढा उत्खनन गरेको सम्बन्धमा समन्वय नगरेसम्म धार्चे गाउँपालिका प्रवेश गर्ने नाका अनिश्चितकालीन बन्द गरिएको छ’, सडकमा स्थापना गरिएको सूचना बोर्डमा भनिएको छ ।
बुधबार गाउँलेहरु भेला भई धार्चे प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरेको बारपाक सुलिकोट गाउँपालिका २ का वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । ‘२०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाक हो भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा स्थापित भइसकेको बिषयलाई पाँच बर्ष बितेपछि धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्नखोज्यो’, उनले भने, ‘धार्चे गाउँपालिकाको दाबी हामी बारपाकबासीलाई सह्य र मान्य भएन त्यसैले त्यस बिषयमा माफी नमागेसम्म हामी नाका खुलाउँदैनौँ ।’
धार्चे गाउँपालिकाले भने बहश र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अचानक नाका बन्द गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । धार्चे गाउँपालिका वडा नं. ४ का अध्यक्ष राज गुरुङले गाउँपालिकाले इपिसेण्टर दाबी पनि नगरेको, इपिसेण्टर इड्भेञ्चर ट्रेल मात्र निर्माण गरेको दाबी गरेका छन् । साथै जंगलको ढुंगा पनि गाउँपालिकाले नभै ठेकेदारले टिपेको गुरुङले दाबी गरेका छन् ।
नाका खुलाउनका लागि स्थानीय प्रहरी चौकीलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘हामीले बाटो खुलाउनका लागि बारपाक प्रहरी चौकीका प्रहरीलाई भनेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन्, ‘प्रहरीले आग्रह गर्दा भएन भने फेरि अर्को चरणको प्रयास गर्नुपर्ला ।’




