
बहराइनका राजकुमार आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी
मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी भएका छन् । राजकुमारसहितको १८ जनाको टोली मनास्लु क्षेत्रमा आउने भएपछि स्थानीयबासी खुशी भएको चुमनुब्री गाउँपालिका १ सामागाउँका दावा नोर्बु लामाले जानकारी दिए ।
पर्यटन क्षेत्र धरासायी भइरहेका बेला राजकुमारसहितको टोली मनास्लु क्षेत्रमा आउँदा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ठाउँको प्रचारप्रसार हुने लामाले बताए । ‘राजकुमार आउने भन्ने खबरले हामी अत्यन्त खुशी भएका छौँ’, उनले भने, ‘उहाँ आउने भन्ने खबर सुनेपछि केहीदिनअघि गाउँमा बैठक पनि भएको थियो । उहाँको भ्रमणले मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा धेरै ठूलो टेवा पुग्ने बैठकमा सहभागी भएकाहरुले विश्वास व्यक्त गरेका थिए ।’
राजकुमारको भ्रमणपछि विश्वभर सकारात्मक सन्देश प्रवाह हुने र भविष्यमा मनास्लु हिमाल आरोहण गर्न र मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटक उल्लेख्य वृद्धि हुने अर्का स्थानीय ठिले लामाले विश्वास व्यक्त गरे । ‘बहराइनका राजकुमारले हाम्रो मनास्लुको आरोहण गरेपछि लाखौँ खर्च गरेर पनि नपाइने प्रचारप्रसार हुन्छ’, उनले भने, ‘त्यसकारण हामी असाध्यै खुशी छौं । उहाँको भ्रमणलाई सुखद बनाउन स्थानीय स्तरबाट हुने सबै सहयोग हुनेछ ।’
तर भ्रमणका कारण कोरोना संक्रमण नफैलियोस् भन्नेमा स्थानीयबासी सचेत रहेका दावा नोर्बुले जानकारी दिए । ‘उहाँहरु हेलिकोप्टरमा आएर सिधै आधार शिविरमा जानुभयो भने धेरै राम्रो हुनेछ भन्ने गाउँलेको चाहना छ’, उनले भने, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण छैन । उहाँहरुको आरोहणपछि पनि यस्तै अबस्था रहनेछ भन्ने हाम्रो चाहना छ ।’
राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा र डिफेन्स फोर्ससहित १५ जना तथा तीनजना बेलायती नागरिक गरी १८ जनाको टोली बुधबार नेपाल आइपुगेका हुन् ।
उनीहरु दुई महिनाको नेपाल बसाइमा ४,९४० मिटर अग्लो लुबुचे हिमाल र ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम छ ।




