| सोमवार, कार्तिक २३, २०८३

अजीरकोट गाउँपालिकाले दियो राहत स्वरुप ‘काम’

 

लकडाउनका कारण काम खोसिएका गाउँका श्रमिकलाई गोरखाको अजीरकोट गाउँपालिकाले पर्यटन पदमार्ग बनाउने काम दिएको छ ।

दोस्रो चरणको राहत स्वरुप नागेपोखरी जाने पर्यटन पदमार्ग बनाउने काम दिएको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिए ।

‘नागेपोखरी, निम्चेपोखरीसम्म जाने पर्यटन पदमार्गका लागि हामीले ७० लाख रुपैयाँ बिनियोजन गरेका छौं’, उनले भने, ‘यो बजेटबाट पदमार्ग बनाउँदा गाउँका श्रमिकलाई रोजगार पनि मिल्ने, पदमार्ग पनि बन्ने, दुवै हातमा लड्डु हुने भएको छ ।’ जिल्ला दररेट अनुसार दैनिक सातसय साठी रुपैयाँका दरले ज्याला दिने पनि उनले बताए ।

अघिल्लो बर्ष गाउँपालिकाले सो पदमार्गका लागि ७० लाख रुपैयाँ बिनियोन गरेको थियो । कार्यक्रम कार्यान्वयन हुन नसक्दा सो बजेट यसबर्ष गाउँकै श्रमिकलाई काम दिएर खर्च गर्ने धितालले बताए ।

करिब २० किलोमिटर सो पदमार्ग निर्माणका लागि निश्चित दुरी कायम गरी दस, दस जनाको पाँच वटा समूह बनाई काम गर्ने गाउँपालिकाले निर्णय गरेको छ । पहिलो चरणमा ५० जनाले काम गरेको निश्चित दिनपछि दोस्रो चरणमा उनीहरुलाई फिर्ता गरी दोस्रो चरणमा अर्को ५० जनालाई परिचालन गर्ने गरी गाउँपालिकाले नियम बनाएको छ ।

‘सिरानडाँडादेखि दोबाटा, नागीखर्क, पौनडाँडा, खडेओढार, नागेपोखरी जाने एउटा बाटो बनाउँछौं । फेरि देब्रेतर्फको निम्चेसम्मको अर्को पदमार्ग खोल्छौं ।’

गाउँपालिकाले पहिलो चरणमा चारसय ८० जनालाई राहत दिएको थियो । दोस्रो चरणको राहत कार्यक्रममा उनीहरुलाई नै काम दिने र अरु दक्ष मिस्त्रीलाई पनि थप्ने गाउँपालिको लक्ष्य राखेको छ ।

नागेपोखरीमा काठैकाठको प्रयोग गरी पर्यटन सूचना केन्द्र बनाउने योजना छ । साथै वनभोज जान चाहनेका लागि भाँडाकुँडा, खरिद पनि गर्ने गाउँपालिकाको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्