| शनिबार, बैशाख ८, २०८१

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक रोकिएनन्

 

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक निर्वाध आवतजावत गरिरहेका छन् ।

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न मनास्लुलगायत बिभिन्न पर्यटकीय पदमार्गमा विदेशी पर्यटकलाई प्रतिबन्ध लगाए पनि मंगलबार पनि निर्वाध रुपमा पर्यटक आइरहेको स्थानीय होटल व्यवसायी मिङमार लामाले जानकारी दिए ।

गोरखाको मनास्लु र चुम उपत्यका क्षेत्र तथा कञ्चनजंगादेखि दार्चुलासम्मको पर्यटकीय पदमार्गमा पर्यटक आवागमन प्रतिवन्ध गर्न नेपाल सरकारले गत चैत एक गते सरकारले निर्णय गरेको थियो ।

‘आज पनि तीनजना विदेशी पर्यटक सामागाउँ आइपुगेका छन्’, चुमनुब्री गाउँपालिका वडा नं. १ का सदस्य समेत रहेको उनले भने, ‘गाउँलेहरु डराइरहेका छन् । कसले रोकिदिने हो ?’ गाउँलेहरु सरकारको लकडाउनको कार्यान्वयन गरी घरभित्रै बसिरहेको तर विदेशी पर्यटक गाउँ घुमिरहेको उनले बताए ।

अनुमति खुल्ला रहेका बेला सो क्षेत्रमा पुगेका पर्यटक अब फर्कने क्रममा रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी बताउँछन् । ‘त्यो क्षेत्रमा विदेशी नागरिक छन् भन्ने जानकारी हामीलाई पनि आएको छ । अनुमति पाएका बेला गएका होलान् । अब फर्कन त दिनुपर्यो नि’, प्रजिअ सुरेन्द्र पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्