| मङ्लबार, भदौ १, २०८३

छ बर्षमा ३३ हजार बढिले घुमे मनास्लु क्षेत्र

पछिल्ला छ बर्षमा ३३ हजार भन्दा धेरै विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । आर्थिक बर्ष २०७१/०७२ देखि २०७६/०७७ को हालसम्म ३३ हजार पाँचसय ८७ जना जना पर्यटकले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाको अनुसार आर्थिक बर्ष २०७१/०७२ मा सार्क राष्ट्रबाट ४३ जना र अन्य बाह्य देशबाट पाँच हजार छ सय १५ जना, आब २०७२/०७३ मा सार्क राष्ट्रबाट १६ जना र अन्य बाह्य देशबाट दुई हजार दुई सय ७२ जना, आब २०७३/०७४ मा सार्क राष्ट्रबाट ६५ जना र अन्य बाह्य देशबाट पाँच हजार छ सय ८० जना, आब २०७४/०७५ मा सार्क राष्ट्रका देशबाट ५६ जना र अन्य बाह्य देशबाट सात हजार एक सय ४७ जना, आब २०७५/०७६ मा सार्क राष्ट्रबाट ६६ जना र अन्य बाह्य देशबाट सात हजार पाँच सय ८९ जना र आब २०७६/०७७ को हालसम्म सार्क राष्टूबाट ३३ जना र अन्य बाह्य देशबाट पाँच हजार पाँच जना पर्यटकले मनास्लु संरक्षण क्षेत्र अवलोकन गरेका छन् ।

गत बर्षको तुलनामा यो बर्ष पर्यटकको सङ्ख्या घट्यो

गत बर्षको तुलनामा यो बर्ष मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकहरुको संङ्ख्या घटेको छ । आर्थिक बर्ष २०७५/०७६ को तुलनामा २०७६/०७७ मा मनास्लु पर्यटन क्षेत्र घुम्न आउने पर्यटकहरुको सङ्ख्या कम रहेको एमक्याप प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।
‘गत आर्थिक बर्षमा सात हजार छ सय ५५ जना पर्यटकले मनास्लु संरक्षण क्षेत्र अवलोकन गरेका थिए । तर, चालु आर्थिक बर्षको हालसम्म पाँच हजार ३८ जनाले मात्रै अवलोकन गरेका छन्’, उनले भने, ‘मनास्लु पदमार्ग जाने ठाउँका बाटो मर्मत हुँदै गरेकाले यो बर्ष अलि कम पर्यटक आएको होकी जस्तो लाग्छ ।’ गतबर्ष नेपालमा फैलिएको डेंगुका कारण पनि पर्यटकको संख्या घटेको उनले बताए ।

आन्तरिक पर्यटकले घुम्दैनन् मनास्लु क्षेत्र !

आन्तरिक पर्यटकले मनास्लु संरक्षण खासै भ्रमण नगर्ने गरेको एमक्याप प्रमुख लामाले बताएका छन् ।  ‘मनास्लु संरक्षण घुम्ने आन्तरिक पर्यटकको संङ्ख्या निल नै छ भनेपनि हुन्छ’, लामा भन्छन्, ‘सार्क राष्टूबाट घुम्न आउनेहरु पनि अत्यन्तै कम छन् । तथ्याङ्क हेर्ने हो भने जर्मनी, फ्रान्स,अमेरिका, नेदरल्याण्ड, अष्ट्रेलिया लगायतका देशबाट अधिकतम पर्यटकहरु यो क्षेत्र घुम्न आउँछन् ।’

मनास्लु संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटक संङ्ख्या बढाउन कार्यालयले प्रचारप्रसार तथा बिभिन्न कार्यक्रम गरिरहेको उनले बताए । उत्तरी गोरखाको साविकको गाविस सिर्दिवास, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सामागाँउ मनास्लु संरक्षण क्षेत्रभित्र पर्छन् । सो क्षेत्रमा विश्वको आठौं अग्लो मनास्लु हिमाल, लार्केपास, वीरेन्द्र ताल, कल्छुमान ताल, श्रृङ्गी हिमाल, चुमभ्याली, नुब्री भ्याली, तिब्बती कला संस्कार र संस्कृति अवलोकनका लागि पर्यटकहरु जाने गर्छन् । उक्त क्षेत्रका अधिकांश स्थानियहरु पर्यटन व्यवसायबाट जिविकोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्