| मङ्लबार, भदौ १, २०८३

मनास्लु क्षेत्रमा यो बर्ष झन धेरै पर्यटक

 

अनुपमा खनाल :

लोकप्रिय बन्दै गएको गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक बर्षको तीन महिनामा बिगत बर्षको भन्दा पर्यटक आगमनको संख्या बढेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । एमक्यापका प्रमुख नरेन्द्र लामाका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा दुई हजार चार सय ९७ जना पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । असोज महिनामा पर्यटकको आगमन बढि रहेको एमक्यापको तथ्याङ्क एमक्यापसंग छ । असोजमा मात्र दुई हजार ३० जना सो क्षेत्र पुगेका छन् ।

साउनमा जम्मा १५ जनाले सो क्षेत्र भ्रमण गरेकोमा भदौ महिनामा चार सय ५२ जना मनास्लु क्षेत्र पुगेका एमक्याप प्रमुख लामाले जनाए । असोज र कात्तिक महिनामा पर्यटकको चाप बढि रहने गरेको छ । सो क्षेत्र प्रबेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । पर्यटकले काठमाण्डौको भृकुटि मण्डप र पोखराको ड्यामसाईट स्थित प्रबेश दस्तुर काउन्टरमा रकम बुझाउनु पर्नेछ । यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँ स्थित चेकपोष्ट मा दोब्बर दस्तुर तिर्नुपर्नेछ ।

निषेधित क्षेत्र मनिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि आठ दिनका लागि अनुमति दिने गर्दछ । सो अबधिको भ्रमणका लागि पर्यटकले चुमभ्याली का लागि प्रतिब्यक्ति ५० डलर र नुब्री भ्यालीका लागि प्रतिब्यक्ति ७० डलर विभागमा बुझाउनुपर्नेछ ।

८ दिनबाहेक थप दिन पर्यटक बस्न चाहेमा थप शुल्क बुझाउन ुपर्नेछ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वटा वडा पर्दछ । साविकका सिर्दिबास, ल्हो, प्रोक, विही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये समागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार गाविस चुम उपत्यकाका रुपमा चिनिन्छ । सो क्षेत्रमा बसोबास गर्ने तिब्बती(भोटे) समुदायको धार्मिक तथा सास्ंकृतिक अबस्था अध्ययन गर्न, प्राकृतिक दृश्याबलोकन, मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरु आउने गरेका एम क्यापका प्रमुख लामाले जानकारी दिए ।

५ हजार एक सय ६० मिटरको लार्केपास गर्न पनि मनास्लु क्षेत्र पुग्नुपर्छ । मनास्लु क्षेत्रमा बढि पर्यटक पदयात्राका लागी नै आउने गर्दछन् । युरोपियन राष्ट्रका नागरिक बढि आउने पाइन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्