
छेपेटारमा पहिलो रमाइलो मेला सुरु
गोरखा नगरपालिका १० छेपेटारमा बिहिबारदेखि रमाइलो मेला सुरु भएको छ । सुर्योदय युवा क्लबको आयोजना तथा भिआईपि क्राउड इन्भेटको सह आयोजनामा ‘गोरखा विकास, अर्थतन्त्रको आधार, पर्यटन जलस्रोत कृषि र उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ मेला भएको हो । मेलाको राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।
मेला उद्घाटन गर्दै उनले युवाहरुको सक्रियतामा छेपेटारमा उदाहरणीय कार्य भएको भन्दै प्रशंसा गरे ।
मेलामा हेलिकोप्टरबाट गोरखा दरबार, मनकामना मन्दिरलगायत रमणीय स्थलको अबलोकन गर्ने ब्यबस्था गरिएको छ । साथै दरौंदीमा ¥याफ्टिङ र डुंगा सयर गर्ने ब्यबस्था पनि मिलाइएको छ । मेलामा गुरुङ, मगर, नेवार, कुमाल, तामाङ लगायतका समुदायको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, बालउद्यान, राष्ट्रिय तथा स्थानीय गायक, गायिका तथा हाँस्य कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलामा पशुपति शर्मा, प्रकास सपुत, प्रिती आले, ज्योती मगर, रमेशराज भट्टराई, ढाकाराम पौडेल लगायतको प्रस्तुती रहने आयोजक सुर्योदय युवा क्लबले जनाएको छ । मेलाको उद्घाटन समारोहका बक्ताहरुले मेलाले पर्यटन प्रबद्र्धनका साथै छेबेटारलाई ब्यापारिक केन्द्रका रुपमा स्थापित गर्न सफल हुने विश्वास ब्यक्त गरे ।
क्लबका अध्यक्ष प्रदीपजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पूर्व सांसद ज्ञानेन्द्र कुमाल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष कृष्ण ढकाल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, आयोजक क्लबका संस्थापक अध्यक्ष गोकर्ण थापा, क्लबका उपाध्यक्ष सुनिल श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
४० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । कात्तिक ९ गतेसम्म चल्ने मेलामा दैनिक उपभोग्य सामाग्री सहितका एक सय ४५ ब्यापारीक स्टल रहेका छन् ।




