
नौलीखोलामा क्यानोनिङ गर्न पर्यटन बोर्डले सघाउने
नेपाल पर्यटन बोर्डले धार्चे गाउँपालिका ७ को नौली झरनामा क्यानोनिङको प्रबद्र्धनका लागि सहयोग गर्ने भएको छ । बोर्डले झरनामा क्यानोनिङको आधारभुत तालिम सञ्चालनका लागि नौ लाख रुपैयाँ विनियोजन गरेको हो । धार्चे मनास्लु पर्यटन विकास समितिले नेपाल क्यानोनिङ एसोसीयसन सँग समन्वय गरेर तालिम सञ्चालन गर्ने समितिका अध्यक्ष साने गुरुङले बताए । तालिमकै समयमा क्यानोनिङ फेस्टिवल पनि गर्ने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । भदौ पहिलो साता नै विज्ञको टोलीले नौली झरनामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्ने तयारी थियो । तर झरनामा पानीको मात्रा बढेकाले सम्भाब्यता अध्ययनमा कठिनाई हुने भएपछि अहिलेसम्म सम्भाब्यता अध्ययन गर्न नसकिएको अध्यक्ष गुरुङले बताए ।
झरनामा पानीको मात्रा घटेपछि नेपाल क्यानोनिङ एसोसियसनका प्राविधिकले अध्ययन गर्ने उनको भनाई छ । पर्यटन बर्ष सन् २०२० तथा गण्डकी प्रदेशको आन्तरीक पर्यटन बर्ष २०१९ लाई मध्यनजर गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको उनले जानकारी दिए ।
झरनामा पानीसँग पौठेजोरी खेल्दै डोरीमा झुण्डिएर पहराको साहारामा पानीको धारलाई काट्दै तल माथि गर्ने रोमाञ्चक एवं साहसिक खेलका रुपमा क्यानोनिङ चिनिन्छ




