| सोमवार, भदौ १, २०८३

मनास्लु जाने पर्यटकलाई गोरखाबजार हुँदै जाने वातावरण बनाउन माग

 

अनुपमा खनाल

उद्योग वाणिज्य संघ गोरखाले मनास्लु पदयात्रामा आउने पर्यटकलाई जिल्ला सदरमुकाम हुँदै लैजाने वातावरण बनाउन माग गरेको छ ।

मनास्लु पदमार्ग जाने पुरानो रुट गोरखा(आरुघाट(आर्खेत रहेको भन्दै संघले पुरानै रुटबाट पदमार्ग जाने वातावरण बनाउन माग गरेको हो । संघले यस विषयमा जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएको जनाएको छ ।
गोरखा सदरमुकाम नआई अन्य बाटोबाट आरुघाट हुँदै पदमार्ग प्रबेश गर्दा पर्यटकहरु बजार क्षेत्रका पर्यटकीय गन्तब्यको अबलोकन गर्न नपाउने भएकाले पुरानै रुटबाट पर्यटक आउजाउ गर्ने वातावरण बनाउन माग गरेको संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले बताए । ‘हाम्रो जिल्लाको मनास्लु हिमाल आरोहण, लार्केपास तथा मनास्लु पदयात्राका लागि पर्यटक आउँछन्’ उनले भने ‘पहिले त जिल्ला सदरमुकाम हुदै जान्थे । तर एक दशकयता यो क्रम रोकिएको छ । अन्य जिल्ला हुँदै उनीहरु आरुघाट पुग्छन् । फर्कदा पनि मनाङ हुँदै लमजुङबाट फर्कन्छन् । यसकारण सम्भावना भएर पनि जिल्ला सदरमुकाम क्षेत्रका पर्यटकीय गन्तब्यमा पदमार्गमा जाने सबै पर्यटकलाई ल्याउन सकिएन ।’

मनास्लु पदयात्रा गर्ने तथा लार्केपास गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु धादिङ हुँदै आरुघाट छिरेर मनास्लु पदमार्गमा जाने क्रम बढ्दै गएको छ । जसका कारण जिल्ला सदरमुकामका ब्यापार ब्यबसाय पनि प्रभावित भएको ब्यबसायीहरुले बताएका छन् । यस विषयमा जिल्लाका प्रशासक, टूेकिङ क्षेत्रमा कार्यरत गोर्खाली, पर्यटनसँग सम्बन्धित संघसंस्था, सरोकारवाला सबैसँग वृहत छलफल गरेर अघि बढ्ने संघले जनाएको छ । मनास्लु पदमार्ग आउने पर्यटकलाई गोरखा बजार हुँदै पदमार्ग पुग्ने वातावरण बनाउन सबैसँग आबश्यक समन्वय र सहकार्य गर्ने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्